अझै बनेन् मुक्त हलियाका घर



काठमाडौं : मुक्त हलियाले आवास निर्माणका लागि दोस्रो किस्ताको रकम नपाउँदा निर्माण भैरहेका घरहरु अलपत्र परेका छन् । मुक्त हलिया पुनस्र्थापनमा परेका मुक्त हलिया परिवार घर निर्माणमा दोस्रो किस्ताका लागि निकै धाउँदा पनि रकम निकासा गरिएको छैन । रकम निकासा नहुँदा ‘क’ श्रेणीको परिचयपत्र पाएका १५५ मुक्त हलिया परिवारको घर निर्माण कार्यसमेत् ठप्प हुन पुगेको छ ।

‘ख’ श्रेणीका ४२३ र ‘ग’ श्रेणीका १२ परिवारले पनि दोस्रो किस्ताको रकम पाएका छैनन् । घर निर्माणका लागि उपलब्ध हुन नसकेको दोस्रो किस्ताको रकमबारे सरकारी पक्ष मुक्त हलिया समाजलाई दोष दिने गरिरहेको छ । बेलैमा काम नगर्नु, भनेअनुसारको मापदण्ड लागू नगर्नु, आलटाल गर्नु र सरकारले मात्र गरेन भनेर दिन बिताउनु मुक्त हलियाहरुको कमजोरी रहेको बताउँछ ।

तर सरकारी आरोप सही नभएको भन्दै मुक्त हलिया समाजका अध्यक्ष सिवी लुहारले ‘पुनस्र्थापनाका लागि छनोटमा परेका परिवारले समेत् अझैसम्म जग्गा खरीद र घर निर्माणका लागि पहिलो किस्ताकै रकम समेत् पाउन सकेका छैनन् ।’

मुक्त हलियाका अनुसार रु. आठ करोड ४२ लाख आठ हजार ५०० रकम दोस्रो किस्तावापत मुक्त हलिया परिवारले पाउन बाँकी छ । पुनर्वास नगरपालिका–९ का मुक्त हलियाहरु पनि दोस्रो किस्ताको रकम नपाउँदा घर निर्माणकार्य पूरा हुन नसकेको बताइरहेका छन् । यसले गर्दा २०७५ सालसम्म मुक्त हलियाको आवास निर्माण गरिसक्ने लक्ष्य पनि पूरा हुन सकेको छैन ।

राष्ट्रिय मुक्त हलिया महासङ्घका अध्यक्ष ईश्वर सुनारका अनुसार अझैसम्म पुनस्र्थापनाको काम पूरा हुन नसकेकाले मुक्त हलिया परिवारले लामो र कष्टकर जीवन बिताउनु परिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्