संकेतबिनै गुड्छन् सवारी, हातको इसारामा ट्राफिक व्यवस्थापन



काठमाडौं : राजधानीको व्यस्त चोक हो- गौशाला। सडक चोकमा चार जना ट्राफिक प्रहरी सवारी चालकलाई इसारा गर्नमै व्यस्त हुन्छन्। सडकमा हुनुपर्ने न्यूनतम पूर्वाधार नहुँदा उनीहरूले दैनिक सास्ती बेहोर्नुपरेको छ। चारै दिशाबाट आएका सवारीसाधनलाई कसरी पाखा लगाउने भन्नेमै ट्राफिकको दिन बित्ने गरेको छ।

सवारीसाधनको चापसँगै पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थी र अन्य सर्वसाधरणको हुल पास गराउन पनि उनीहरूलाई हम्मेहम्मे पर्छ। जेब्राक्रस, ट्राफिक लाइटसँगै सवारी लेन नहुँदा हातको इसारामा ट्राफिक व्यवस्थापन गर्दै आएका छन्, उनीहरू।

गौशाला एउटा प्रतिनिधि स्थान मात्र हो। चाबहिल चोकको पनि उस्तै दुर्दशा छ। फराकिलो चोक भए पनि सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सधैं हम्मेहम्मे परिरहन्छ। चाबहिलमा पनि ट्राफिक लाइट, जेब्राक्रस र सडक लेन छैनन। २७ किलोमिटर क्षेत्रफलको रिङरोडमध्ये कलंकी–कोटेश्वर सडकखण्ड अहिले केही व्यवस्थित छ। तर त्यो सडकखण्डमा पनि अहिलेसम्म पर्याप्त सडक संकेत राखिएको छैन। 

त्रिपुरेश्वर, थापाथली र माइतीघरमा पनि ट्राफिक प्रहरीले हैरानी बेहोर्नुपरेको छ। यी चोकमा बिहान अफिस टाइम (१० देखि ११ बजेसम्म) र साँझ कार्यालय छुटने समय (चार देखि पाँच बजेसम्म) सवारीको चाप अत्यधिक हुन्छ, जसकारण यात्रु जाममा फस्नुपर्ने अवस्था छ। कलंकीदेखि त्रिपुरेश्वरसम्म सडक फराकिलो बनाए पनि सडक पेटी र अन्य पूर्वाधार नहुँदा सवारी जाम बढने गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्