एक चीन नीतिमा दृढ छौं : सभापति देउवा



चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीच न्यानो सम्बन्ध : विदेशमन्त्री वाङ यी

काठमाडौं : प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र चिनियाँ विदेश मन्त्री वाङ यीबीचमा शिष्टाचचार भेटघाट भएको छ ।

भेटवार्ताका क्रममा देउवा र विदेशमन्त्री वाङबीच द्विपक्षीय पारस्परिक हित तथा चासोका विषयमा कुराकानी भएको थियो । भेटमा ऐतिहासिक प्रसंगको पनि स्मरण गरिएको थियो । चिनियाँ विदेशमन्त्री वाङले चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीच लामो र सौहाद्र्रपूर्ण सम्बन्ध रहिआएको स्मरण गराएका थिए ।

यो भेटलाई सभापति देउवाले द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने अवसरको संज्ञा दिंदै नेपालको पूर्वाधारलगायत विभिन्न क्षेत्रहरुको विकासमा चीनले गरेको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए । यसका साथै यस्ता सहयोगहरुको आगामी दिनमा निरन्तरताको अपेक्षा पनि गरेका थिए । एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको कुरामा जोड दिंदै देउवाले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता समेत दोहो-याएका थिए ।

भेटका क्रममा सभापति देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा चासो राखेपछि विदेशमन्त्री वाङले उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने कुरा बताएका थिए । भेटघाटमा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी सहभागी थिए भने विदेशमन्त्री वाङ्सँग चिनियाँ प्रतिनिधिमण्डल सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस्