नियमित स्वास्थ्य जाँच गराई ओली बालुवाटार फर्किए, सचिवालय बैठक बस्दै



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँच पश्चात बालुवाटर फर्किएका छन् ।

आज (बुधबार) बिहान प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार स्वास्थ्य जाँचका क्रममा सिंगापुरमा मृर्गौलाको प्लाज्मा फेरेसिस गर्दा शरीरमा राखिएको पाइप झिकिएको र ओली अब तन्दुरुस्त भएर फर्किएका छन् ।

शिक्षण अस्पतालमा उनको मुटु, मृर्गौला र हातको पनि स्वास्थ्य जाँच गरिएको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली यस अघि सिंगापुरमा मिर्गौला सम्बन्धी उपचार गराएका थिए । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार भएको थियो । त्यहाँ उनको सात पटक प्लाज्माफेरेसिस गरिएको थियो ।

मृर्गौला रोगबाट पीडित ओलीको १२ वर्षअघि मृर्गौला प्रत्योरोपण गरिएको थियो । अहिले प्रधानमन्त्री पूर्ण स्वस्थ्य रहेको बताइएको छ । आजै बेलुका नेकपा सचिवालय बैठक बालुवाटारमा बोलाइएको छ ।

बैठकमा पार्टी एकता पश्चात बाँकी काम टुंगो लगाउने एजेण्डा रहेको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्