चिनियाँ सेनाद्वारा भारतीय सेना नियन्त्रणमा



लद्दाखमा फेरि तनाव

काठमाडौं : बुधबारदेखि एकपटक फेरी चीन–भारत सीमाना रहेका लद्दाख क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । यसको कारण थियो, भारतीय सेना गस्तीका क्रममा चिनियाँ नियन्त्रित लद्दाखको भूमिमा पुग्नु । उनीहरु जानीजानी गए वा थाह नपाएर चिनियाँ भूमिमा पुगे, सोको बारेमा स्पष्ट खुलाइएको छैन । तर चिनियाँ जनमुक्ति सेनाले भारतीय सेनालाई नियन्त्रणमा लिएपछि तनाव बढ्न पुगेको हो ।

समातिएका भारतीय सेनासँग चिनियाँ सेनाले केही सोधपूछ गरेको थियो । सोधपूछको विषय थियो– उनीहरु किन चिनियाँ सीमानामा पुगे । चिनियाँ भूमिमा भारतीय सेनाको उपस्थिति नै दुई सेनाबीचको तानावको वास्तविक कारण थियो ।

दुवै पक्षबीच कुराकानीपछि सहमति समझदारी कायम गरी दुवै सेना आआफ्नो बेसक्याम्पमा फर्किएका थिए । यो अक्कलझुक्कल भइनै रहने घटना हो । तर चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री भेटघाटको पूर्वसन्ध्यामा हुन गएकाले यसलाई अलि केही गम्भीर रुपमा लिइएको छ ।

त्यसोत भारतले जम्मुकश्मिर र लद्दाखलाई छुट्याएर कश्मिरको विशेषाधिकार भारतीय संविधानको दफा ३७० खारेज गरी हनन् गरेपछि चीन र भारतको सिमानामा सुरक्षा सतर्कता बढाइएको थियो । कश्मिरी विशेषाधिकार हनन्सँगै काश्मिरी सरकारले गर्ने गरेको सीमा सुरक्षा दिल्लीले प्रत्यक्ष आफ्नो हातमा लिएपछि पनि आशंका र तनावको स्थिति सिर्जना हुन गएको हो ।

लद्दाखस्थित चीन–भारतको सिमानामा यस्ता घटनाहरु पहिल्यैदेखि हुँदै आएका छन् । तर कहिले काँही यस्ता घटनाले दुवै छिमेकी देशबीच अन्तर्राष्ट्रिय तनाव पनि उत्पन्न गर्ने गरेका छन् ।

कश्मिरको विवादसँगै चीनले पाकिस्तानलाई ‘ब्याकिङ’ गर्दै आएको भारतको आरोप रहेको छ भने चीनले काश्मिरी विशेषाधिकारको बचाउका लागि बोल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्