अव्यवस्थित पार्किङ्गले हरायो जनकपुरको सौन्दर्य



जनकपुरधाम : ‘ग्रिन जनकपुर, क्लिन जनकपुर’को अभियानमा चुनौती बनेको छ, जनकपुरको अव्यवस्थित पार्किङ्ग । अव्यवस्थित पार्किङ्ग मात्र होइन जनकपुरको सौन्दर्यतालाई फोहोर र छाडा गाईबस्तुले पनि थप ललकारेको छ ।

कुनै बेला धनुषा जिल्लाको मात्र सदरमुकाम रहेको जनकपुर अहिले प्रदेश २ को अस्थायी राजधानी हो । प्रदेश २ को राजधानी जनकपुर छिमेकी देश भारतका धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र मानिन्छ । प्रदेश राजधानी बनेसँगै जनकपुर पछिल्लो समय सुन्दर शहरमा परिणत हुँदैछ । जनकपुर उपमहानगरपालिकाले जनकपुर सहरका सडक फराकिलो बनेसँगै जनकपुरको सौन्दर्यमा निखार आएको बताइन्छ ।

जानकी मन्दिर, राम मन्दिर, संकट मोचन मन्दिर, राजदेवि मन्दिर, कृष्ण मन्दिर र ५० बढि पौराणिक पोखरी र तालतलैया रहेको जनकपुरमा पछिल्लो समय भारतीयसँगै पश्चिमा पर्यटकहरुको आकर्षण पनि बढ्दै गएको देखिन्छ । तर मुख्य चोकहरुको सडक किनारमा अव्यवस्थित रुपमा गरिएका मोटरसाइल पार्किङ्गले ऐतिहासिक जनकपुरधामको सौन्दर्य हरेको आभास धेरैले गर्ने गरेका छन् ।

जानकी मन्दिर परिसरमा रहेको जानकी चोक, प्रमुख व्यापारिक थलो भानु चोक, मिल्स यरिया, जनकपुर अञ्चल अस्पताल अगाडिको रोड, मालपोत कार्यालय परिसरको रोड, मुरलि चोक, थापा चोक तथा आँखा अस्पताल अगाडि लगायतका ठाउँहरुमा गरिएका अव्यवस्थित मोटरसाइकल पार्किङ्गले जनकपुर कुरुप त देखिन्छ नै अस्तव्यस्त पनि देखिन्छ ।

अव्यवस्थित पार्किङ्गको अवस्था
जनकपुरको अव्यवस्थित पार्किङ्गप्रति प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पनि ध्यान केन्द्रित भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कोमल बाहादुर खत्री भन्छन्–जनकपुधामलाई सुन्दर शहरको रुपमा विकास गर्ने योजना अन्तर्गत अवयवस्थित पार्किङ्गलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालयसँग समन्वयय गरेर छिट्ेटै नै योजना बनाउने तयारीमा हामी छौँ ।

‘ग्रिन जनकपुर, क्लिन जनकपुर’को अभियान चलाइरहेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि जनकपुरको अव्यवस्थित पार्किङ्गप्रति चिन्तित छ । जनकपुर अब धनुषाको सदरमुकाम मात्रै रहेन प्रदेशकै राजधानी हो, वन राज्यमन्त्री सुरेश मण्डलले भने–त्यसैले सबै सरोकारवालाहरुसँग समन्वय गरेर व्यवस्थित पार्किङ्गको अवधारणा ल्याइनुपर्छ । तर जनकपुरलाई पहिलाकै जस्तो फोहोर र अव्यवस्थित शहरका रुपमा हेर्ने अवधारणामा परिवर्तन ल्याउनुपर्छ । अहिले जनकपुर सुन्दर शहरको रुपमा परिणत भइरहेको छ । जनकपुरलाई हामी सफा र सभ्य शहर बनाउने महाअभियानमा जुट्दैछौँ ।

क्लिन जनकपुर अभियान अन्तर्गत झाडु अभियानको नेतृत्व गरिरहेका धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल नियमक निकाय, सवारी चालक, व्यवसायि र विद्यार्थीहरु सम्मिलित समूह मार्फत चेतनामुलक कार्यक्रम चलाएर अव्यवस्थित पार्किङ्ग गर्नेहरुलाई मात्रै होइन फोहोर गर्नेलाई पनि सचेत गराउनु पर्ने सुझाव दिन्छन् ।

उनि भन्छन्–चेतनाको कमि हुँदा मन लागि पार्किङ्ग त गरिराखिएकै छ, मन लागि फोहोर फाल्ने बानि पनि छ । यसलाई सबै मिलेर दुरुत्साहित गर्नुपर्ने आवश्यकता देख्छु ।

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह ट्राफिक प्रहरी र नगरवासीको समन्वयमा व्यस्त चोकहरुमा व्यवस्थित पार्किङ्ग बनाउने विषयमा छलफल भइरहेको बताउछन् ।

अव्यवस्थित पार्किङ्ग मात्र नभएर फोहोर र छाडा गाईबस्तु पनि जनकपुरको सौन्दर्यको चुनौती भएको बताउँदै मेयर साह भन्छन्–सडक विस्तार गर्ने कार्य सकिएपछि व्यवस्थित पार्किङ्ग बनाउने तिर नगरपालिकाको ध्यान केन्द्रीत हुने छ ।

जिल्ला ट्रफिक कार्यालय जनकपुरका प्रहरी निरिक्षक पर्शुराम घिमिरेले सडक छेउमा गरिने अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गर्नकै लागि सडकमा वान साईड पार्किङ्गको अवधारणा अनुसार काम भइरहेको बताउछन् ।

सडकको पूर्र्वपट्टी मात्र पार्किङ्ग गर्नुपर्ने नियम छ । तर लापरवाही तरिकाले जहाँ मन लाग्यो त्यही पार्किङ्ग गर्ने परिपाटीको अन्त्य भएको छैन ।

जनकपुरका प्रहरी निरिक्षक घिमिरे भन्छन्–‘वान साईड पार्किङ्गको अवधारणाले केही हदसम्म सुधार आएको छ । मनलागि ढंगले पार्किङ्ग गर्ने सवारी धनिलाई हामीले कारबाहीको दायरमा ल्याए पछि जथाभावि पार्किङ्ग गर्ने क्रममा कमि आएको छ ।’

प्रतिक्रिया दिनुहोस्