युवा संघमा टुंगियो अंशवण्डा



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको राष्ट्रिय युवा संघ नेपालले संगठन एकिकरणको मापदण्ड टुंगो लगाएको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएको १६ महिना पछि संघको सांगठनिक एकताको मापदण्ड बल्ल टुंगो लागेको हो ।

नेकपा केन्द्रीय सदस्य एवं संघका इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा दिपशिखा र सहसंयोजक रमेश पौडेलको बैठकले सांगठनात्मक एकता प्रक्रिया टुंगो लगाएको छ ।

संघको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय हुने प्रस्ताव बैठकले गरेको छ । यसअघि पार्टीले संघको संयोजक र सहसंयोजक चयन गर्दै २ सय ५० सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो । तर बैठकले केन्द्रीय सदस्यको संख्या बढाउँने निर्णय गर्दै अनुमोदनका लागि पार्टीसँग अनुमती मागेको छ ।

३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालिन युवा संघबाट १ सय ७३ जना र वाइसिएल नेपालबाट १ सय ५५ जना सदस्य रहने सहमती भएको छ । चार सदस्यपछि मनोनित गरिनेछ ।

यसैगरी केन्द्रीय समितिको एकतिहाईले हुन आउँने १ सय ११ सदस्यीय सचिवालय गठन हुनेछ । जसमा युवा संघबाट ५७ र वाइसिएलबाट ५२ जना सदस्य रहनेछन् । ९ सदस्यीय केन्द्रीय कार्यालयमा संघबाट ५ र वाइसिएलबाट ४ सदस्य चयन गरिने सहमती भएको छ ।

सात प्रदेशमध्ये चार वटा प्रदेशमा संघको र तीन वटा प्रदेशमा वाइसिएलले संघको नेतृत्व पाउने सहमती भएको छ । यसैगरी ७७ जिल्ला मध्ये ४२ मा युवा संघ र ३५ जिल्लामा वाइसिएलले नेतृत्व लिनेछ ।

एकता प्रक्रिया टुंगो लगाउँन भोली (शुक्रबार) दुवै संगठनका पदाधिकारीहरुको संयुक्त बैठक बोलाइएको छ । बैठकसँगै पदभार ग्रहण एवं कार्यालय उदघाटन गर्ने कार्यक्रम रहेको संघका नेता प्रभातबिक्रम कटुवालले बताए । यस्तै केन्द्रीय कमिटीको बैठक ९ असोजमा काठमाडौंमा बोलाइएको छ ।

संघको केन्द्रीय कार्यालय तत्कालिन माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्