जितियाको मुख्य विधि शुक्रबारदेखि शुरु हुँदै


काठमाडौं : मैथिल र थारु समुदायका महिलाको महान् लोक पर्व जितियाको मुख्य विधि शुक्रबारदेखि शुरु हुँदै छ। यसअन्तर्गत व्रतको सप्तमी तिथिमा नहाए खाए गरिन्छ ।

यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको पातमा तोरी वा सस्र्युंको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।

सप्तमी तिथिकै दिन दिवङ्गता महिलाप्रति श्रद्धास्वरूप नैवेद्य अर्पण गरी महिलालाई निम्तो दिएर भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसैदिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ । शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खने चलन छ ।

सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा । फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् ।

जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ । नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अपर्ण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ ।

यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ । पण्डित गणेश झाका अनुसार असोज ३ गते शुकबार तेलखरी, पितराइन र रातिको अन्तिम पहरमा (४ बजेदखि ५ः३० बजेभित्र) ओठङ्न विधि र सूर्योदय भएपछि अष्टमी तिथिमा (शनिबार) व्रत शुरू भई आइतबार दिउँसो ३ देखि ४ बजेपछि पारण गरिने योग रहेको छ ।

मिथिला पचाङ्गअनुसार जितियामा प्रदोष व्यापनी अष्टमीको प्रधानता रहेका कारण यो व्रत यसपटक षष्ठी उपरान्त सप्तमीका दिन (शुक्रबार) रातिको अन्तिम पहरमा गरिने विधि ओठङ्न रहेको छ । पहाडी समुदायका महिलाले दर खाने झैँ मैथिल महिलाले ओठङ्न विधि गर्दछन् ।

जितिया पर्व मैथिल संस्कृततिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुखशान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन छ । जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ ।

विशेषरुपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहिछन् भन्ने मान्यता पनि रहेको छ ।

जितिया पर्वको मुख्य उद्देश्य मोहप्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको धारणा पाइन्छ । यस पर्वबारे एउटा भनाई यसप्रकार छ ः

जितिया पावनी बड भारी
धियापूताके ठोकी सुतौलनी
अपने खयलनी भरि थारी

अर्थात् जितिया पर्व धेरै ठूलो छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविकता त्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्य मात्र हो ।

यस व्रतमा व्रतीले दिनरात उपवासमा बस्नुपर्ने भएकाले ओठङ्नमा छाकभरि भोजन गर्छन् । महिलाले व्रत–उपवास गर्नुभन्दा पहिला नै खाने गरेकाले नै होला, यस व्रतका सन्दर्भमा माथि उल्लेख गरिएको भनाइको चलन भएको विश्वास छ ।

जिमुतवाहनको पूजा

अष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अपर्ण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ ।

मध्याह्नतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताका बारेमा एउटी व्रतालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ ।

त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।

जिमुतवाहन को हुन् ?

भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको सीमकृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।

चिल र स्यालको पनि पूजा

हिन्दूधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोहीअनुरुप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ ।

जितिया पर्व कथा

कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए ।

व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे । सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के ।

उनीहरु फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिइ मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो ।

कालक्रममा प्रयागको कुम्भ मेलामा दुवैको मृत्यु भयो । कुुम्भमा मृत्यु भएका कारण दुवैको जन्म वेदका ज्ञाता ‘भास्कर’ नामक ब्राम्ह्णको घरमा भयो । पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पुरावतीका रुपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनवान्को घरमा र कर्पुरावतीको राजाको घरमा ।

जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मियो तर मृत्यु भयो । उ पछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शिलावतीले आप्mनी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेका कारण यस जन्ममा तिम्रो सन्तानको मृत्युु भएको भनी जानकारी गराएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

त्यसै कारणले यो व्रत जति कठोर भए पनि व्रतलाई कसैले खण्डित गर्न चाहदैनन् । थारु जनजातिका महिलाबीच पनि यो पर्व अति लोकप्रिय रहेको छ । थारु समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन् ।

यस समुदायमा पर्वको पहिलो दिन पिना र पहेंलो माटो मुछेर घिरौँलाका पातमा घिरौँलाकै फूलबाट पूजा गरिन्छ र त्यही माटोबाट कपाल नुहाइन्छ । भोलिपल्ट बिहान कुलदेवता बस्ने घरको पिँढीमाथि चिल र पिँढीदेखि तल स्यालको पूजा गरिन्छ ।

पर्वको तेस्रो दिन बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ । जितिया व्रतमा प्रयोग हुने तोरी वा सस्र्यूंको तेल, पिना, घिरौँलाको पात, नैवेद्यका वस्तु स्वास्थ्य र संस्कृति दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ।

व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एकदिन पनि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान गराउँछ । ओठङ्नको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाई तथा दिदीबहिनीबीच आत्मीयताको बोध गराउँछ ।

जिमुतवाहन भन्ने लोक देवताको व्रत हो । यस अवसरमा भनिने कथामा सामाजिक, धार्मिक र सांस्कृतिक मान्यता प्रतिबिम्वित भएको पाइन्छ । जितिया पर्वलाई दशैँ आगमनको सङ्केतका रुपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ ।

यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पुजन गरिन्छ । छोरा र छोरीमा भेद्भाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफ्ना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ । ऐतिहासिक यस भू–भागमा बसोबास गर्ने मुस्लिमबाहेकका महिलाको पर्वका रुपमा पनि यसले आफ्नो अस्तित्व हालसम्म कायम राखेको छ ।

यसको एउटा भनाइ प्रसिद्ध छ :

जितिया दशेँ दशमी, दशमी बीसे
सुकराति, सुकराति छवे छठी ।।

यस भनाइले पनि जितिया सकिएको लगभग विजयादशमीको रौनकतालाई प्रस्ट गर्दछ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वका रुपमा बुझ्नु जरुरी रहेको सन्देश पनि दिने गरेको छ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन

काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको

म्यान्मा : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ

काठमाडौं : विनासेवासुविधा काम गर भन्ने आशयको संवैधानिक अदालतद्वारा जारी आदेश अनुचित भएको भन्दै प्रदेश

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुमार्गको यही कात्तिक ४ गते उद्घाटन गर्ने

काठमाडौं : अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम

विराटनगर : छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको

काठमाडौ : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएपछि उनीहरुको सेवा

काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार

काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत