अलि कति पनि निराश हुनुपर्ने ठाउँ छैन : नेम्वाङ



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संविधान निर्माण भएको चार वर्षमा महत्वपूर्ण आधार खडा गरेको हुँदा निराश हुनुपर्ने ठाउँ नरहेको बताएका छन्। चौथो अधिवेशनअर्थात् बजेट अधिवेशनको समापनका अवसरमा उनले संविधानकै आधारमा उभिएर समग्र विकास गर्न सक्ने अवस्था रहेको बताए।

“नेपाली इतिहासमा संविधानका लागि अब राजनीतिक आन्दोलन गर्नुपर्ने आवश्यकता रहेन, समृद्ध नेपाल निर्माणका लागि आधार तयार गरेका छौँ”, उनले भने, “जनताका लागि जनताकै प्रतिनिधिले बनाएको नेपालको संविधानले विश्व इतिहासमै शीर ठाडो हुने र छाती फुल्ने काम गरेका छौँ। अलि कति पनि निराश हुनुपर्ने ठाउँ छैन ।”

नेता नेम्वाङले संविधान कार्यान्वयनका क्रममा भएका केही कमीकमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए। पूर्वसभामुख नेम्वाङले चौथो अधिवेशनमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरणको कानून निर्माण गरेको र ७० वर्ष लामो जनताको भावनालाई मूर्तरुप दिँदै सत्तापक्ष र प्रतिपक्ष सबै लिएर अहिलेको अवस्थामा ल्याउनु महत्वपूर्ण काम भएको स्पष्ट पारे।

“नेपालको संवैधानिक इतिहासमा यसअघिका संविधानका स्रोत तत्कालीन शासक थिए तर वर्तमान संविधानको स्रोत जनता नै हुन ।” नेता नेम्वाङले भने, “अहिलेको संविधानको प्रस्तावनामा नै हामी सार्वभौमसत्ता नेपाली जनता, संविधानसभाबाट नै संविधान बनाएर घोषणा गर्छौं भनेर लेखिएको छ, नेपालको इतिहासमा पहिलोपटक जनताका लागि जनताले बनाएको संविधान हो ।”

अर्थतन्त्र कछुवाको गतिमा छ : पूर्व प्रम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थतन्त्रको विकासमा नेपाल अवस्था कछुवा गतिमा रहेको हुँदा यसलाई सुधार गरेर लैजानुपर्ने बताएका छन्। बजेट अधिवेशनको समापनका अवसरमा उनले बजेटको अवस्थालाई बढाउनुपर्नेमा र त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

उनले असन्तुष्टि नै विकास गर्ने आधार भएको उल्लेख गरे। पूर्वप्रम डा भट्टराईले भने, “संविधान जारी भएपछि यो अवधिमा थुप्रै कानून निर्माण भयो, महिला मान्य सदस्य सबैभन्दा बढी सक्रियतापूर्वक सहभागिता भएर काम गरेको अनुभूति मैले गरे ।”

उनले ठूलो बलिदानीपछि जारी गरेको संविधान जारी गरेको चार वर्ष पुग्दै गरेको अवस्थामा संविधान पनि त्यहीअनुरुप विकास हुँदै जानुपर्नेमा जोड दिए। – रासस

प्रतिक्रिया दिनुहोस्