अध्यक्ष थापामाथि १० करोड हिनामिनाको बात,क–कसले दिए साथ



काठमाडौ : काठमाडौंस्थित बूढानीलकण्ठ स्कुलमा पढ्ने पूर्व्विद्यार्थीहरूको संगठन ‘सोसाइटी अफ एक्स बूढानीलकण्ठ स्कुल’ (सेब्स) नामबाट भूकम्पपीडितलाई भन्दै अमेरिकामा ५ करोड, नेपालमा २ करोड र विवेकशीलले नेपाली पार्टीले २ करोड १० लाख रुपैयाँ उठाएको पैसा हिनामिना गरेको आरोपमा विवेकशील नेपाल पार्टीका अध्यक्ष उज्जवल थापामाथि छानविन शुरु भएको छ ।

भूकम्पपीडितका नाममा उठाएको झन्डै १० करोड रुपैयाँ रकम हिनामिना गरेको आरोप विवेकशील नेपाली पार्टीका अध्यक्ष उज्ज्वल थापालगायतलाई लागेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा अध्यक्ष थापा, किरण सिटौला र विधान राणाविरुद्ध दश करोड रुपैया हिनामिना गरेको भन्दै नविन श्रेष्ठले उजुरी दिएका छन् । उजुरीपछि हिजो बिहीबार जिल्ला पशासन कार्यालय काठमाडौंले थापासहितको टोलीलाई झिकाएको थियो ।

उजुरी परेपछि थापा तनावमा परेका छन् । रविन्द्र मिश्रसँग मतभेद बढेपछि पार्टी विभाजन गरेका थापामाथि यस विषयमा मुख खोल्न पार्टीभित्र दबाब बढेको छ । तर थापा भने मौन बस्नुलाई पार्टीभित्र आश्चर्य मानिएको छ । थापाले भूकम्प पिडितका नाममा नेपाल र अमेरिकामा उठाइएको पैसाको हिसाबकिताब देखाउन सकेका छैनन् ।

उनले हिसाबकिताब फरफार गर्न नसकेपछि आफूले विवेकशील पार्टीको अध्यक्ष पदमा अब नउठ्ने भन्दै हिडेका छन् । नेतृत्व हस्तान्तण भनिए पनि भित्री रहस्य चाहि त्यही रकमको अनियमितताको विषय उठ्न सक्ने भएकाले उनले अब नउठ्ने चाल चालेको बताईन्छ ।
‘विवेकशीलको अध्यक्ष नउठ्ने भनेर उज्ज्वलजीले बाहिर त्याग गरेको जस्तो देखिए पनि खासमा भूकम्पपीडितका लागि नेपाल र अमेरिकामा उठाइएको पैसाको हिसाबकिताब बुझाउन सक्नुभएको छैन्,’ विवेकशीलका एक नेताल भने ।

आगामी कात्तिक १ र २ गते जनकपुरमा विवेकशीलको महाधिवेशन हुँदैछ । त्यसभन्दा अघि नै थापाले असोज १ गते फेसबुकमा स्टाटस लेखेर विवेकशीलको नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका छन्।

यसरी उठाईएको रकम कहाँ के कसरी खर्च भयो त्यसको हिसाबकिताव देखाउन सकेका छैनन् । उजुरीमा पनि ‘सेब्स नर्थ अमेरिका’ नामको संस्था खोली आरोपित सिटौलाले अमेरिकामा ४ लाख ६८ हजार ५ सय ५८ अमेरिकी डलर (५ करोड ६० लाख रुपैयाँ) बराबर रकम उठाएका थिए ।

जसमध्ये ३ करोड ५२ लाख सिटौलाले आफैंले व्यक्तिगत खर्च गरेको उजुरीमा उल्लेख छ।
आगामी शनिबार सेब्सको वार्षिक साधारणसभा भएकाले उक्त उजुरीबारे सोही स्थानमा थप छलफल हुने महासचिव सुपुन दाहालले बताए । अमेरिकामा रहेका सिटौला, काठमाडौंमा रहेका थापा र राणाद्वयले भूकम्पपीडितलाई दिएको राहतका तस्बिर आ–आफ्ना फेसबुक पेजमा राख्ने गरेको तर तीनैजनाले एउटै तस्बिर राखेर परिणाम देखाउने गरेको बूढानीलकण्ठका एक पूर्व्विद्यार्थीले जानकारी दिए।

त्यस्तै काठमाडौं महानगरपालिकाको मेयरमा रञ्जु दर्शनालाई उठाउँदै गर्दा चन्दास्वरूप उठाइएको रकमको हिसाबकिताब पनि देखाउन नसकेको आरोप पनि अध्यक्ष थापामाथि छ।
पहिले आर्थिक सहयोगका विवरण पार्टीको वेबसाइटमा राख्ने गरिए पनि उजुरीपछि भने कुनै पनि विवरण साइटमा उपलब्ध छैनन्। पार्टीसँग रहेको सबै रकमलाई पनि पारदर्शी बनाइएको छैन। थापामाथि पार्टीमा आएको सहयोग समेत हिनामिना गरेको आरोप पनि लागेको छ ।
तर, विवेकशीलका प्रवक्तासमेत रहेका मिलन पाण्डेले भने रकमलाई लिएर पार्टी्भित्र कुनै पनि उजुरी नपरेको दाबी गरेका छन् ।

त्यसो त थापालगायतले बूढानीलकण्ठ स्कुलस्थित पुस्तकालय भवन बनाउन तथा पुस्तक खरिदका लागि सन् २००३÷०४ मा विश्व बैंकले दिएको २ लाख ५० हजार डलरको हिसाब पारदर्शी देखाउन नसक्दा अझै फस्र्यौट हुन नसकेको सम्बद्ध स्रोतले जानकारी दिएको छ।

सेब्सका अध्यक्ष राणा, सेब्स नर्थ अमेरिकाका प्रमुख सिटौला र विवेकशील अध्यक्ष थापालगायत विरुद्ध परेको आर्थिक हिनामिना उजुरीबारे छानबिन प्रक्रिया जारी रहेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले बताए ।

उनका अनुसार त्यसबारे थप प्रमाण जुटाउँदै छानबिन गर्नका लागि सहायक सिडिओलाई निर्देशन दिइसकिएको छ। उनका अनुसार हिजो बिहीबार सहायक सिडिओले अध्यक्ष राणा र महासचिव दाहाललगायतलाई बोलाएर छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्