शिक्षा प्रणालीमा सुधारको खाँचो : उपराष्ट्रपति पुन



काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन्। नेपाल शिक्षक महासङ्घद्वारा आज आयोजित ‘प्रथम राष्ट्रिय परिषद्’को उद्घाटन समारोहमा उनले शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने बताए।

शिक्षकहरु केवल बालबालिकालाई औपचारिक ज्ञान दिने गुरु मात्रै नभएर समाज सुधारक र परिवर्तनका संवाहक पनि रहेका उनले औँल्याए। आज नेपाली जनताले राजनीतिक रुपमा जे उपलब्धि हासिल गरेका छन् त्यसमा शिक्षकहरुको देन अग्रणी रहेको उनको भनाइ छ ।

“शिक्षा पेशा हेर्दा सरल र सहज देखिए पनि यो निकै महत्वपूर्ण जिम्मेवारी रहेको छ”, उपराष्ट्रपति पुनले भने, “शिक्षक पेशा जति संवेदनशील छ, यसमा सन्तुष्टि र गौरव पनि त्यति नै छ ।”

उपराष्ट्रपति पुनले भोलिको देश तथा समाज कस्तो बनाउने भन्ने कुरामा शिक्षकहरुको निकै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आजको परिस्थिति तथा संसारलाई बुझेर त्यही अनुकूलको शिक्षण विधि अपनाएर आफ्ना विद्यार्थी तथा विद्यालयलाई उत्कृष्ट नतिजा ल्याउन निरन्तर क्रियाशील रहनु शिक्षकहरुको दायित्व रहेको धारणा राखे।

कार्यक्रममा पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधरले शिक्षामा समस्या जकडिएर गएको बताउँदै नेपाल सरकारले केही समयअघि शिक्षामा गरेको आठौँ र नवौँ संशोधन अझै पनि निर्विवाद रहको जानकारी गराए। – रासस

प्रतिक्रिया दिनुहोस्