मोबाइलमै जीवन बीमा



काठमाडौं : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध गराउने भएको छ । सरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र बीमितका लागि उपयोगी हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो ।

संस्थानले संविधान दिवसको अवसर पारेर ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्स सार्वजनिक गरेको हो । मोबाइल एप्सको सार्वजनिक गर्दै संस्थानका अध्यक्ष धनीराम शर्माले मोबाइल एप्लिकेशन शुरुआत मात्र रहेको बताउँदै भने, “यो एप्स शुरुआत मात्र हो । यसमा प्रयोगकर्ता, बीमित तथा बीमकको आवश्यकता र मागअनुसार नयाँ नयाँ सुविधा पनि थप्दै लैजाने छौँ।”

मोबाइल एप्सामा डिजिटल पेमेन्ट थप्नुका साथै उपभोक्ताले खोजेअनुरुपका अनलाइन सुविधा पनि सकेसम्म चाँडो ल्याउने प्रयास गर्ने उनको भनाइ छ । संस्थानका प्रशासक कविप्रसाद पाठकले नेपालकै अग्रणी तर सुस्त गतिमा चलिरहेको राष्ट्रिय बीमा संस्थानले अब आफ्नो गति तीव्र बनाएको बताए।

जीवन बीमा व्यवसाय अघि बढाउने सन्दर्भमा संस्थानको गति तीव्र बनाइसकेका भन्दै उहाँले यो कार्यको थालनीसँग नागरिक लगानी कोषमार्फत आएको राष्ट्रसेवक कर्मचारीको तीन लाख १८ हजार ‘पोलिसी’ एपमा समावेश गरिसकेको जानकारी दिए। – रासस

प्रतिक्रिया दिनुहोस्