प्रदेश योजना आयोगका सदस्य र उपाध्यक्षबीच बोलचाल बन्द



मोरङ : प्रदेश १ को योजना आयोगका उपाध्यक्ष र सदस्यहरुबीच विवाद हुँदा आयोगको काम नै प्रभावित भएको छ । सुवोधराज प्याकुरेलले आफू ठूलो हुँ भन्दै हेप्न खोजेपछि उब्जिएका विवादका कारण हाल सदस्य पूर्णलक्षम लिम्बू र उपाध्यक्ष प्याकुरेलबीच बोलचाल समेत बन्द भएको छ । साथै यस विषयलाई लिएर उनीहरुले माथिल्लो निकायमा समेत असन्तुष्टि जाहेर गरेका छन् ।त्यसोत केही दिनअघि सदस्य मिना भण्डारी र लिम्बूले मात्रै राष्ट्रपति भण्डारीलाई भेटेको फोटो सामाजिक सञ्जालमा राखेपछि आयोगभित्र थप विवाद सृजना भएको थियो ।

अहिले उनीहरुबीचको विवाद राष्ट्रपति विद्यादेवी भण्डारीसम्म पुगेको छ । उपाध्यक्ष प्याकुरेलले सदस्यहरुलाई मतलब नगर्ने, आफ्नो निर्णय मात्रै लागू गर्न खोज्ने, कार्यक्रमहरुमा समन्वय नगर्ने गरेको आरोप सदस्यहरुले लगाउँदै आएका छन् ।

उनीहरुले आन्तरिक रुपमै असन्तुष्टि जाहेर गरिरहेको बेला प्रदेश योजना आयोगले गर्ने सार्वजनिक कार्यक्रमको विषयमा समेत जानकारी हुन छोडेपछि विवाद बाहिर आएको हो ।

बुधबार गैर सरकारी संस्था महासंघसँग मिलेर प्रदेश योेजना आयोगले गरेको कार्यक्रममा समेत सदस्यहरुले जानकारी नपाएपछि यस विषयले झन उग्ररुप लिएको छ । २०७५ मंसिर १९ गते गठन भएको प्रदेश योजना आयोगमा अझै २ जना सदस्य थप गर्न बाँकी छ ।

उनीहरुको विवादका कारण आयोगको बजेटमा समेत असर परेको कार्यालयका अन्य कर्मचारीहरु बताउँछन् । बजेटका विषय पर्याप्त छलफल नगर्दा बजेट भाषणमा आयोगलाई चाहिने बजेट नछुट्टिएकाले असर परेको कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्