म्याक्स अस्पतालको लापरबाहीमा विरामीको ज्यान गएपछि अस्पताल क्षेत्र तनावग्रस्त



विराटनगर : विराटनगरस्थित महेन्द्र चोकमा रहेको म्याक्स अस्पतालको लापरबाहीका कारण एक विरामीको ज्यान गएको छ ।

आफ्नै घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका भारतको बिहारस्थित किशनगंज जिल्ला निवासी ३० वर्षीय सबोधकुमार साहको म्याक्स अस्पतालमा उपचारका क्रममा मृत्यु हुन पुगेको छ । ग्यास सिलिन्डर पड्केर घाइते भएका सुबोधलाई गत भदौ २० गते धरानस्थित घोपा क्याम्पबाट विराटनगरको म्याक्स अस्पतालमा रेफर गरिएको थियो ।

केहि दिन पहिले आफ्नै घरमा ग्यास सिलिन्डर पड्किदा सुबोध लगायत उनको ३२ वर्षीय भाइ प्रमोद साह र सुबोधको २ वर्षे छोरा चन्चल साह घाइते भएका थिए । घाइते तिनै जनाको भाद्र २० गते देखी म्याक्स अस्पतालमा उपचार भइरहेको थियो ।

सुबोधका आमा भारती देविका अनुसार हिजोसम्म राम्रै अवस्थामा रहेका सुबोधलाई हिजो अचानक अस्पतालले मृत घोषणा गरेको थियो । आफन्तले चिकित्सकको लापरबाहीले सुबोधको मृत्यु भएको बताएका छन् ।

शुक्रबारसम्म अस्पताल प्रशासनले सुबोध ५० प्रतिशतभन्दा बढी ठिक भइसकेको जानकारी दिएको थियो तर, अचानक परिवारलाई समेत नभनि मृत्यु घोषणा गरिनुमा चिकित्सककै लापरबाही भएको आफन्तले आरोप लगाएका छन् ।

मृतक सुबोधका भाई हरिनारायण साहले हालसम्म १५ लाखभन्दा बढी अस्पतालमा बुझाइ सकेपनि अस्पतालले थप रकम बुझाउन दवाव र यातना दिएको आरोप लगाए ।

उनका अनुसार विभिन्न मान्छे पठाएर थप रकम बुझाउन यातना दिँदै आएको र तत्काल रकम नबुझाए जेपनि हुने धम्की अस्पताल प्रशासनले दिँदै आएको थियो ।

साहले सुरुमा डाक्टर रामाशंकर यादवले हेर्दै आएको बिरामीलाई पछि डाक्टर इक्बाल अहमदको नेतृत्वमा उपचार हुँदै आएको बताए ।

अस्पतालको लापरबाहीबाट विरामी सुबोधले ज्यान गुमाएको खबर बाहिरिएसँगै अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । पीडित परिवारले आक्रोशित हुँदै अस्पताल प्रशासनसँग गुनासो राख्दा अस्पताल प्रशासनले नसुनेपछि आक्रोशित भिडले अस्पताल तोडफोड समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्