वीरगञ्जमा भुस्याहा कुकुरको बिगबिगी, रेबिज भ्याक्सिनको अभियान शुरु



वीरगञ्ज : वीरगञ्जमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । महानगरपालिकाभर भुस्याहा कुकुर अनियन्त्रित रुपमा बढेकाले निकै समस्या निम्तिएको छ । सर्वसाधरणहरुलाई लखेट्ने, टोक्ने र बाटोमा हिँड्दा अवरोध खडा गर्ने गरिरहेका छन् ।

रेबिजबाट बचाउनका लागि १३ औँ रेबिज विरुद्धको दिवसको अवसर पारेर एशोसिएशन अफ भेटेनरी प्राक्टिसनर पर्साले आफ्नै लगानीमा भुस्याहा कुकुरलाई रेबिजविरुद्धको सुइ लगाउने अभियान शुरु गरेको छ । वीरगञ्ज महानगरपालिकामा हाल ३६ सय भुस्याहा कुकुर छन् ।

भुस्याहा कुकुरका कारण विहान, बेलुका घरबाट निस्कन निकै समस्या परेको स्थानीयको गुनासो छ । मर्निङ वाक हिँड्नेहरु आत्मरक्षाका लागि हातमा लट्ठी लिएर मात्र हिँड्ने गरेका छन् । साँझबिहान हातमा केही कुरा झुण्ड्याएर र काँधमा वा टाउकामा केही कुरा राखेर हिँडेको देख्ने बित्तिकै यी भुस्याहा कुकुरहरु झुण्ड बनाएर लखेट्न थाल्छन् ।

बाइक कुदाइरहेका र साना कार चलाइरहेकालाई भुस्याहाका झुण्ड नै वरपरबाट लखेट्दै हिँड्छन् । हालसम्म नाङ्ला पसले, साना व्यापारी, ज्येष्ठ नागरिक तथा केटाकेटीहरु भुस्याहाका निशानामा पर्ने गरेका छन् ।

तत्काललाई कुकुरको संख्या घटाउन वा हटाउन असंभव भएपछि एन्टीरेबिज भ्याक्सिन दिने अभियान थालिएको हो । हाल ४० हजारको लगानीमा चारवटा ‘डग क्याचर’ खरिद गरी भ्याक्सीन अभियानलाई सहज बनाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्