तीन दिनसम्म पनि कांग्रेस विधान प्रस्तुत हुन सकेन



काठमाडौं: महासमितिमा सबैभन्दा महत्वपूर्ण विधानको मस्यौदा नै तीन दिनसम्म पनि प्रस्तुत हुन नसकेपछि कांग्रेसको बन्दसत्र निरस बनेको छ ।

 

शनिबार राजनीतिक प्रस्ताव र आइतबार सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत भएपछि सदस्यहरूले सुझाब राखेका छन् । तर, सबैभन्दा महत्वपूर्ण विधानको मुख्य विषयमै कुरा नमिल्दा महासमिति सुरु भएको तीन दिनसम्म पनि बैठकमा यो प्रस्तुत हुन सकेको छैन । 

 

पदाधिकारी र मस्यौदा समितिमा छलफल

सोमबार बिहान ८ बजेपछि सुरु भएको बन्द सत्र ११ बजेपछि स्थगित भएको थियो । बन्द सत्रपछि पदाधिकारीसहितका शीर्ष नेताको बैठक गर्ने र केन्द्रीय समिति बैठकले विधान अनुमोदन गर्ने तयारी थियो । तर, पदाधिकारी र विधान मस्यौदा समितिको छलफलमै कुरा मिल्न सकेन ।

 

झन्डै २ बजेसम्म सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सह–महामन्त्री डा. प्रकाशशरण महतसहितका नेताले सहमतिको प्रयास गरेका थिए । तर, पदाधिकारीको संख्या, निर्वाचित गर्ने कि मनोनीत गर्ने भन्नेमै नेताहरूबीच कुरा मिलेन ।

 

अघिल्लो दिनको सहमतिमा दरार

आइतबार रातिसम्म नेताहरू नौ पदाधिकारी बनाउन सहमत भएका थिए । सभापतिबाहेक उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई–दुई बनाउने सहमति जुटेको थियो । पौडेल–सिटौला पक्षले भने सबै पदाधिकारी निर्वाचित गर्ने अडान लिएको थियो । तर, सभापति देउवा पक्षले दुईमध्ये सबै पदमा एक निर्वाचित र एक मनोनीत गर्नेसम्ममा आफूहरू लचिलो हुने बताएका थिए ।

 

पौडेल पक्षले सबै निर्वाचित गर्ने अडान लिएपछि पदाधिकारी आठजना बनाउने, तर अर्को महासमितिबाट निर्वाचनको प्रक्रिया टुंग्याउने विकल्पमा पनि छलफल भएको थियो । आइतबार राति यो विकल्पमा पौडेल पक्षले सहमति दिने संकेत गरे पनि सोमबार बिहान भने सबै पदाधिकारी निर्वाचित गर्ने विषयमै अडानमा कायम रहे ।

 

विकल्पमा पनि छलफल

दुवै पक्षबीच कुरा नमिलेपछि तीन–तीन पदाधिकारी गर्दा दुई महाधिवेशनबाट र एक पदाधिकारी केन्द्रीय समितिबाट निर्वाचित गर्ने विकल्पमा पनि छलफल भएको छ । तर, केसीका अनुसार यो विकल्पमा पनि सहमति नजुटेको बताउँछन् । सहमति नै नभए फरक मतलाई महासमितिमा भोटिङ लैजाने र दुईतिहाइले पास नभए विशेष महाधिवेशनमा जानुपर्ने बताउँछन् । विधानमाथि मंगलबार बिहान ९ बजे सिंहरदबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुनः बैठक बोलाइएको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्