नेकपामा भिआइपीका काण्डै-काण्ड



काठमाडौं : रामायण र महाभारत जस्ता महाकाव्यहरु पर्व र काण्डहरुले भरिए झैं सत्तारुढ दल नेकपा पनि यौनकाण्डका नेताहरुले भरिएको छ । शीर्ष नेताका ती यौनकाण्ड एकपछि अर्को गरी समयक्रमसँगै खुल्दै र पर्दाफास हुँदै जान थालेका छन् ।

त्यसमा पनि विशेष गरी महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा यस्ता काण्डहरु तहमा आउने गरेका छन् । नेकपाका झण्डै आधा दर्जन नेता आफ्नो पद गुमाएर धोती न टोपी हुन पुगेका छन् ।

पछिल्लो चरणमा आएर सभामुख कृष्णबहादुर महरा यही पंक्तिमा थपिएका छन् । हुन त कांग्रेसलगायत अन्य राजनीतिक दलका नेताहरुका पनि महिलासँग जोडिएका चर्तिकलाहरु नुसनिएका र नदेखिएका र सार्वजनिक नभएका होइनन् । तर पछिल्लो समयमा आएर यस्ता घटना नेकपाका नेताहरुमा श्रृंखलावद्ध रुपमा दोहोरिंदै आए ।

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनाव यता मात्रै नेकपाका केही सांसदहरु महिलासँग जोडिएकै कारण पद गुमाउन पुगेका छन् । संसद् सचिवालयमा कार्यरत एक कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिन पुगेका हुन् ।

पीडित महिलाले आफूले लगाएका आरोपहरुको खण्डन गर्दै महराले आफूलाई यौन दुव्र्यवहार नगरेको भनी प्रहरीमा निवेदन दिए पनि उनीमाथिको छानबिन नरोकिने प्रहरीको भनाइ छ ।

महिलामाथि गरिएका दुव्र्यवहारका कारण उनीभन्दा अगाडि आफ्ना पद गुमाउनेहरुमा सुदुर पश्चिमका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पनि हुन् । उनलाई पदीय आचरणमा नबसेको भनी पटकपटक राजीनामा गर्न लगाए पनि अटेरी गरेपछि मुख्यमन्त्रीले नै बर्खास्त गरेका थिए । हाल उनलाई नेकपाको पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।

तत्कालीन मन्त्री सोडारीले एक महिलालाई टेलिफोनमा मनलाग्दी भनेको अडियो रेकर्ड बाहिरिएको थियो । उक्त अडियो प्रधानमन्त्री केपी ओलीसम्मले सुनेपछि मुख्यमन्त्रीलाई काठमाडौं बोलाई सोडारीलाई पदमुक्त गर्न निर्देशन गरेका थिए ।

प्रदेश ३ का नेकपा सांसद केशव स्थापितलाई पनि ‘मीटू’ लागेको थियो । केही समय प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री भएका स्थापितलाई पछि मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए । स्थापितमाथि सञ्चारकर्मी रस्मीला प्रजापतिले गत वर्षको कात्तिक ४ गते सामाजिक सञ्जालमार्फत् काठमाडौं महानगरपालिकाको मेयर रहेको बेला यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसअघि अर्की सञ्चारकर्मी उज्ज्वला महर्जनले पनि स्थापितले राति अबेरसम्म पटकपटक फोन गरेर दुःख दिने गरेको भन्दै ‘मीटू’ लगाएकी थिइन् ।

नेकपाको किसान महासंघका संयोजक रहेका पूर्वमन्त्री हरि पराजुलीलाई पनि महिला दुव्र्यवहारको आरोप लागेको थियो । उनले पनि त्यसपछि मन्त्री पदबाट राजीनामा दिएका थिए । २०७२ सालको असार १५ गते धान दिवसका कार्यक्रममा रोपाईंमा सहभागी एक महिलामाथि यौन दुव्र्यवहार गरेको तस्विर र भिडियो सार्वजनिक भएको थियो । मदिराले लट्ठिएर रोपाईंमा महिलामाथि दुव्र्यवहार गरेकै कारण पराजुली पदबाट राजीनामा गर्न बाध्य भएका थिए ।

यस्तै काण्ड नलागे पनि कर्णलीका भौतिकमन्त्री खड्गबहादुर खत्री पनि भ्रष्टाचार काण्डमा निलम्बनमा छन् ।

त्यसो त एक कार्यक्रममा मन्तव्य दिने क्रममा बोली चिप्लिँदा नेकपाकै सांसद शेरबहादुर तामाङको मन्त्री पद पनि गुमेको थियो । बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जाने नेपाली छात्राबारे नकारात्मक टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना भएपछि तामाङले ‘नैतिकताका आधार’मा पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्