मनाङको अपराजित यात्रा कायमै, च्यासल ३–१ ले पराजित



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लवले अपराजित यात्रा कायमै राखेको छ । आज भएको खेलमा मनाङले च्यासललाई तीन एकले हराएको हो । 

मनाङको जितमा एडेलाजा, ओलाओले अफिज र बिमल रानाले गोल गरे । च्यासलका देबेन्द्र तामाङले पेनाल्टीमा एक गोल फर्काए ।

खेलको १६ औ मिनेटमा एडेलाजाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । ७२ औ मिनेटमा अफिजले गर्दै मनाङलाई २–० को स्थितीमा पुर्‍याए । 

त्यसपछि ८८ औं मिनेटमा सब्सिच्युट खेलाडी विमल रानाले मनाङका लागि तेस्रो गोल गरे । 

खेलको इन्जुरी समयको पहिलो मिनेटमा च्यासलले पेनाल्टी मार्फत गोल गर्‍यो । त्यसपछि च्यासल खेलमा फर्कन सकेन र मनाङ विजयी भयो । जितसँगै मनाङले नौ खेलबाट २७ अंक बनाएको छ ।

यसअघि आजै भएको खेलमा एपिएफले चौंथो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न पहिलो खेलमा मछिन्द्र क्लबलाई ३–१ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । 

एपिएफको जितमा आशिष लामा, युवराज खड्का र रुपबहादुर लामाले गोल गरे । पराजित मछिन्द्रका लागि विदेशी खेलाडी अल्बा एडिमोलाले एक गोल फर्काए । 

प्रतिक्रिया दिनुहोस्