सर्टको गोजी च्यातेर उखुबारी लैजाने सईलाई कारबाहीको सिफारिस



काठमाडौं : निर्मला पन्त बलात्कार–हत्या प्रकरणको अनुसन्धानमा खटिएका थप प्रहरी अधिकृत कारबाहीमा पर्ने भएका छन् । एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले सोमबार प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई बुझाएको ‘छानविन प्रतिवेदन’मा यो उल्लेख गरिएको छ । 

एआईजी बस्न्यात नेतृत्वको प्रतिवेदनले सई बासुदेव अवस्थीलाई कारवाही गर्न सिफारिस गरेको छ । 

प्रतिवेदनमा भनिएको छ, ‘साउन १० गते कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा सई वासुदेव अवस्थी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुद्धा शाखामा कार्यरत रहेपनि उनले नक्कली प्रमाण जुटाउन भूमिका खेलेका छन् ।’ 

अभियुक्त भनेर सार्वजनिक गरिएका ४९ वर्षीय दिलिपसिंह विष्टको सर्टको गोजी सई अवस्थीले च्यातेको खुल्न आएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त कपडाको टुक्रा च्यातेर अवस्थीले नै घटनास्थलमा राखेर नक्कली प्रमाण जुटाउन गैह्र व्यवसायिक हर्कत गरेको देखियो ।’ 

छानविन समितिले ‘कस्को आदेशमा दिलिपसिंह विष्टको सर्ट च्यातेको ?’ भन्ने प्रश्न गर्दा वासुदेव अवस्थीले आदेश दिने अफिसरको नाम भन्न अस्वीकार गरेको प्रतिवेदनको दावी छ । यही आधारमा सई अबस्थी सहितका केही अधिकृतलाई कारवाही गर्दै घट्नाको थप अनुसन्धान गर्न छानविन समितिले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ । 

गत भदौ ३१ गते गठन भएको छानविन समितिले निर्मला पन्त बलात्कार–हत्याबारे अनुसन्धान गर्न भन्दै साउन १३ गते कञ्चनपुर पुगेका केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत डिएसपी अंगुर जिसीले कुशल नेतृत्व नगरेको र व्यवसायिकता प्रदर्शन गर्न नसकेको निष्कर्ष निकालेको छ । 

निर्मला प्रकरणमा हालसम्म ९ जना प्रहरी कारवाहीमा परेका छन् । जसमध्ये, कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई मन्त्रिपरिषदको बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । 

डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, सई रामसिंह धामी, सई हरि सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका थिए ।  

प्रतिक्रिया दिनुहोस्