शान्तिसुरक्षा प्रदेशको पहिलो सर्त : मुख्यमन्त्री राई



बिराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा एवं सुशासन प्रदेश सरकारको पहिलो सर्त रहेको बताएका छन् ।

प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आज यहाँ ६४औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश शान्तिको मार्गमा हिँडिरहेकाले विगतको जस्तो झमेला व्यहोर्नु नपर्ने विचार व्यक्त गरे ।

मुख्यमन्त्री राईले अपराधमुक्त प्रदेश बनाउने सरकारको सङ्कल्पलाई नेपाल प्रहरीले निष्ठावान् भएर काम गर्नुपर्ने धारणा राख्दै मुलुकमा उच्च छवि र समाजमा विश्वास आर्जन गरेको नेपाल प्रहरीलाई सुदृढ गर्दै लैजाने बताए। उनले आगामी दिनमा हुने लगानी सम्मेलनबाट पर्यटन, पूर्वाधार र जलस्रोतको क्षेत्रमा व्यापक परिवर्तन आउने भन्दै सुरक्षा बिना देशको विकास हुन नसक्ने भएकाले नेपाल प्रहरी यसमा दत्तचित भएर लाग्नुपर्ने उल्लेख गरे । उनले देश र जनताका निम्ति कर्तव्यपालना गर्ने क्रममा ज्यान गुमाएका प्रहरीहरुप्रति हार्दिक श्रद्धाञ्जलि पनि अर्पण गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनता र राष्ट्रको सुरक्षामा अहोरात्र खटिने प्रहरी सङ्गठनको कामलाई सराहना गर्दै प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी सङ्गठनलाई अझ बलियो बनाउने बताए । उहाँले सूचना र प्रविधिको विकाससँगै हुने नयाँ किसिमको अपराध र घटनालाई सामना गर्ने किसिमको प्रहरी सङ्गठन बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्नेमा दृढता व्यक्त गरे ।

प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले सीमित साधन र स्रोतको उच्चतम प्रयोग गरी नेपाल प्रहरी सदैव नेपाली जनताका सेवा र सुरक्षामा खटिरहेको दाबी गरे ।

कार्यक्रममा अपराध र शान्तिसुरक्षामा अहम् भूमिका निर्वाह गर्ने भोजपुरका प्रहरी जवान खेमनाथ भट्टराईलाई रु ५० हजार, भोजपुरकै प्रहरी जवान सुरेन्द्र माझीलाई रु २५ हजार र इलामका प्रहरी जवान मुकुन्द माझीलाई रु २५ हजार राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रदान गरियो । एसइई परीक्षामा उत्कृष्ट हुने प्रहरी परिवारका १० जना विद्यार्थीलाई जनही रु १० हजारको छात्रवृति पनि प्रदान गरियो । सोही कार्यक्रम खेलकूदतर्फ ब्याडमिन्टन र दौडमा विजयी हुने प्रहरीलाई पनि पुरस्कृत गरियो भने प्रदेश प्रहरी परिवार सङ्गठनले अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्