दुईपक्षीय वार्तामा राष्ट्रपति सीले नेपाललाई ‘सरप्राईज गिफ्ट’ दिने !



काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच अब केही बेरमा हुने दुई पक्षीय उच्चस्तरीय वार्तामा नेपालले एक चीन नीतिको प्रतिबद्धता दोहो¥याउने भएको छ । यसका साथै दुईपक्षीय वार्तामा दुईदेशबीचको आपसी हित सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा घनिभूत छलफल हुने बताइएको छ ।

बैठकमा नेपालले तयार पारेको सम्झौतापत्रलाई दुईदेशका अधिकारीहरुले बसेर टुङ्ग्याएपछि यो बैठकमा हस्ताक्षर हुने भएको छ । बैठकमा नेपालले दर्जनभन्दा बढी परियोजनाका विषयमा प्रस्ताव राख्नेछ भने चिनियाँ पक्षले त्यसलाई समर्थन गर्ने बताईएको छ ।

नेपालले अत्यन्तै महत्वका साथ वार्तामा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तथा त्यसपछिको निर्माणको मोडालिटीको विषय वार्तामा उठाउने भएको छ । जुन विषय हिजो शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आयोजित रात्री भोजमा दुवै देशका राष्ट्रपतिले विषय उठान गरिसकेका छन् । यो रेलमार्ग अनुदान कि ऋणमा बनाउने भनेर नेपालमा बहसको विषय बनिरहेको बेला राष्ट्रपति सीले यो विषयमा नेपाललाई बिग ‘सरप्राईज गिफ्ट’ का रुमा कसरी सम्झौता गर्नेछन् त्यो चाहि हेर्न बाँकी छ ।

बैठकमा नेपालले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनका विषयमा पनि छलफल गर्ने बुझिएको छ । परराष्ट्र स्रोतका अनुसार उच्चस्तरीय वार्तापछि केरुङ–काठमाडौं सडकमार्गको स्तरोन्नति तथा टोखादेखि नुवाकोटको छहरेसम्म र रसुवाको बेत्रावतीदेखि स्याफ्रुबेँसीमा सुरुङ मार्ग निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

यस्तै काठमाडौं–तातोपानी अरनिको राजमार्ग विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने तमोर जलविद्युत् परियोजना निर्माणसम्बन्धी समझदारीपत्र आदनप्रदान हुनेछ । चीनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बनाइदिनेसम्बन्धी सहमतिपत्र आदनप्रदान हुनेछ भने कृषि र पर्यटनसम्बन्धी दुई समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । गल्छी–केरुङ जलविद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी समझदारीको तयारी छ । त्यसपछि नेपाल र चीनले संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्