कांग्रेसका महासमिति बैठकमा कसले के बोले ?



काठमाडौं: नेपाली कांग्रेसका महासमिति सदस्यहरूले वर्तमान सरकारले जनताको अपेक्षा र चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । नेकपाको नेतृत्वमा बहुमतको स्थिर सरकारसँगै देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने आम जनताको चाहना विपरीत सरकार उल्टो बाटोमा हिँड्न थालेको उनीहरूको टिप्पणी छ । बैठकमा सहभागी सदस्यहरूले विभिन्न विषयमा ब्यक्त गरेको भनाइ यहाँ प्रस्तुत छ।

 

विधिविधानअनुरूप चल्न सकेन,  मनोजनारायण श्रेष्ठ, धनकुटा

यो ९ महिनाको कार्यावधिलाई हेर्दा निराशा छाएको छ। विधिविधानअनुरूप चल्न सकिरहेको अवस्था देखिँदैन। लोकतान्त्रिक विधिअनुसार चलेमा हाम्रो सधैँ सम्मानका साथ सर्मथन रहन्छ।

 

गृह मन्त्रालय छ र ?’, लीला सुब्बा, धनकुटा

स्थिरता चाहिएको थियो। बहुमतका साथ सरकार आए पनि जनमत अनुसारको काम गर्न अझै सकिरहेको देखिएको छैन। एकात्मक शैलीले जनतालाई सास्ती दिने गरी कर वृद्धि भएको छ। हत्या, बलात्कार, अपहरण जस्ता घटना बढेको छ। गृह मन्त्रालयको काम राम्रो भइरहेको छैन। ‘गृह मन्त्रालय छ र ?’

 

प्रतिपक्षसँगको दूरी छोट्याउनुपर्छ, आनन्दसन्तोषी राई,धनकुटा

संविधान जारी भएपछि निर्वाचनबाट बहुजनमत पाएर बनेको सरकारले धैर्यसहित सही सदुपयोग गरेको कम पाइएको छ। दिनको झल्को बिहानीले दिन्छ भनेझैँ सत्ता पक्षको कार्यकाल आरम्भमै देखिरहेका छौँ। विपक्षीको भूमिका महत्वपूर्ण हुन्छ, प्रतिपक्षसँगको दूरी छोटो बनाउनुपर्छ।

 

सरकारले नाराबाहेक केही गरेको छैन’,सुजेन्द्र गोले तामाङ, सुनसरी

संवैधानिक आयोगलाई पनि प्रधानमन्त्री मातहतमा राख्ने, राज्यलाई अधिनायक शैलीमा सञ्चालन गर्ने काम भइरहेको छ । यो सरकारले नाराबाहेक केही गरेको छैन। प्रेस स्वतन्त्रता, नागरिकको मौलिक हक, सामाजिक सुरक्षा, र न्यायको क्षेत्रमा सरकार असहिष्णु भएको पायौँ । ऐतिहासिक परिवर्तनको अनुभूति जनताले पाइराखेका छैनन् । प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदहरूले नै असन्तुष्ट भएर विरोध गरिरहेका छन् । एकात्मक शैलीमा सरकार चलेको छ। भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको छ । 

 

सरकार संघीयतामै चुक्य’, उमेश थापा, सुनसरी

सरकारले जनतालाई शान्तिसुरक्षा दिन सकेको छैन । महँगी, भ्रष्टााचार र विकास, सुशासन सबै कुरामा सरकार असफल भएको छ । सरकारले संघीयतालाई संस्थागत विकास गर्नुपथ्र्यो, मजबुत गर्नुपथ्र्यो । पहिलो कुरा सरकार यसैमा चुक्यो । कर्मचारी नपठाएर सरकारले संघीयतालाई आफैं असफल बनाउनतिर लागेको हो कि भन्ने देखियो ।

 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित मित्रप्रसाद काफ्ले,पाँचथर

मुलुकको आर्थिक अवस्था चौपट भएको छ । व्यावसायिक क्षेत्र नाजुक भएको छ । नेपाली कांग्रेसलाई सहयोगीका रूपमा हेर्नुपर्नेमा शत्रुका रूपमा हेर्न खोजिएको देखिन्छ । सरकार त टिकाउला तर नामको मात्र सरकार हुने अवस्था छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा कुण्ठित गर्न खोजेको देखिन्छ ।

 

भन्न लायकका राम्रा काम केही छैन’  टेकेन्द्र काम्बाङ लिम्बु, पाँचथर

सरकारले भन्न लायकका राम्रा काम केही गर्न सकेन । निर्मला हत्याकाण्ड लगायतका घटनामा दोषीलाई कारबाही गर्न  सकेन । बरु संरक्षण गरेको देखिन्छ । यस हिसाबले सरकार असफल भएको देखिन्छ।

 

गौरीगन्जको पनि विकास भएन फुलवती राजवंशी, झापा

केपी ओली यहीँ निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभयो, गौरीगन्जको विकास अहिलेसम्म हुन सकेन । हुलाकी मार्गको काम अघि बढन सकेको छैन । नागरिक दैनिकवाट

प्रतिक्रिया दिनुहोस्