प्रधानमन्त्रीकै उपस्थितिमा भएको पहिलो चिरफार



काठमाडौं : नेपालमा पहिलो पटक शवको चिरफार कहिले गरिएको थियो भन्ने बारेमा सबैलाई थाहा नहुन सक्छ । अझ प्रधानमन्त्रीकै उपस्थितिमा चिरफार गरिएको कुरा धेरैका लागि आश्चर्यको विषय हुनसक्छ ।

वीरशमशेरकै पालामा १९५७ साल असारमा सुन्धारामा मेडिकल स्कुल स्थापना भएको थियो । त्यही मेडिकल स्कुलमा पहिलो एक समारोहबीच शव चिरफार गरिएको थियो । त्यसलाई अवलोकन गर्नका लागि प्रधानमन्त्री देवशमशेर स्वयं पुग्नुभएको थियो ।

त्यो बेलाको गोरखापत्रमा छापिएको समाचार अनुसार ११८ वर्षअघि अर्थात् १९५८ साल ज्येष्ठ वदि ४ रोज ३ मा मेडिकल स्कुलमा अपराह्न ४ बजे मुर्दा चिरफार गरिएको थियो । त्यो दृश्य हेर्न उपत्यकाका तीन सहरका वैद्यहरूलाई पनि अनिवार्य उपस्थित गराइएको थियो । यो खबर गोरखापत्र दैनिकले लेखेको छ ।

चिरफारका बारेमा गोरखापत्रले समाचार छापेको थियो, “मेडिकल स्कुलमा ४ बजे श्री ३ महाराजको सवारी भै डाक्टर राजकृष्ण मुकुर्जिले डिसेक्सन अर्थात् मूर्दा चिरफार गरेको । अघि अघि नेपालमा डिसेक्सन हुँदैन थ्यो । वैद्य नाउहले हेर्न जान्नु बहुतै दर्कार हुनाले वैद्य नाउहरूले हेर्न पाया लियाकत बढ्ने सारा दुनिञालाई फाइदा हुन्थे । मानिसको सरीरमा यो यो जंत्र यस् यस् ठाउँमा रहेछ भनि देखि अनुभव हुन्थे । देसोन्नति पनि हुन्थे । मेडिकल स्कुलको डाक्टर राजकृष्ण मुकुर्जि यस्एम्एस् लाई हुकुम बक्सेको हुनाले नीजले मुर्दा चिरी तपसिल्का जंत्र यो यो ठाँउमा यो यो जंत्र रहेछ भन्न्या आर्गन्स अर्थात् सरीर भित्रको जन्त्रहरूमा तपसिल्को जंत्रहरू मात्र सूक्ष्मसँग नजर्गराया ।”

प्रतिक्रिया दिनुहोस्