कमाउ धन्दा बन्दै सांस्कृतिक महोत्सव



सुर्खेत : प्रत्येक वर्ष हिउँदको सिजन सुरु भएसँगै मध्यपहाडमा महोत्सवको मौसम नै सुरु हुन्छ । सांस्कृतिक उत्थान गर्ने वा पर्यटन प्रवद्र्धन गर्ने नाममा व्यवसायीका केही समूहले महोत्सव आयोजना गर्छन् ।

केन्द्रस्तरका नेता वा मन्त्रीलाई ल्याएर सामाजिक विकासका लागि भन्दै तामझामका साथ उद्घाटन हुने महोत्सव अवधिभर करोडौंको कारोबार हुन्छ । विभिन्न विषयगत हिसाबले लगाइने महोत्सवमा सरकारी पक्षबाट करछुट समेत पाउँछन् । तर, यसरी मेला महाेत्सवका नाममा लाखौं रकम असुल गर्नेले नागरिकका लागि भने अहिलेसम्म केही गरेको देखिँदैन । बरु उल्टै झगडा, विवाद र राजनीतिक रिसिइबी साँध्ने माध्यमका रूपमा समेत यस्ता महोत्सव विकसित हुँदै गएको पाइन्छ ।

सुर्खेतमा मंसिरको तेस्रो सातादेखि महोत्सव आयोजना गरिने भनिए पनि व्यवसायीबीच ठूलो विवाद उत्पन्न भएपछि अन्ततः स्थगित भयो । स्थानीय व्यापारी महोत्सवले आफूहरूको बजार सुकाएको भन्दै विरोधमा उत्रिए । प्रहरी र व्यवसायीबीचमा हात हालाहालकै स्थिति आयो ।

मेला महाेत्सवका नाममा लाखौं रकम असुल गर्नेले नागरिकका लागि भने अहिलेसम्म केही गरेको देखिँदैन । बरु उल्टै झगडा, विवाद र राजनीतिक रिसिइबी साँध्ने माध्यमका रूपमा समेत यस्ता महोत्सव विकसित हुँदै गएको पाइन्छ ।

 

सात दिनको अनुमति लिएर दसैंतिहारका बीचमा महोत्सव लागेको खुलामञ्च परिसरमा अर्को महोत्सवका लागि भन्दै एक महिनासम्म पनि घेराबार हटाइएन । त्यसपछि व्यवसायीले केही व्यक्तिले आफ्नो स्वार्थपूर्तिका लागि सरकारी सम्पत्ति कब्जा गर्ने र स्थानीय व्यवसायीलाई प्रतिबन्ध लगाउन खोजिएको भन्दै घेराबार नै तोडे । 

महोत्सवबाट किन झस्किन्छन् स्थानीय व्यापारी ?

एक सातासम्म चल्ने महोत्सवमा रमाइलोमात्रै नभई करोडौंको आर्थिक कारोबारसमेत हुने गर्छ । महोत्सव अवलोकन गर्न आउने अधिकांश नागरिक मनोरञ्जनका लागि मात्रै नभई किनमेलका लागि समेत आउँछन् ।

 

महोत्सवभित्र राखिएका सामग्री स्थानीय बजारमा भन्दा सस्तोमा पाइने हुँदा पनि सर्वसाधारणको भीड लाग्ने गर्छ । महोत्सव अवधिमा करिब एक सातासम्म स्थानीय बजार नै सुनसान हुन्छ । महोत्सवभित्र र बाहिरका व्यवसायीले स्टल राखेर सस्तोमा सामान उपलब्ध गराइरहँदा स्थानीय बजार सुकेको भन्दै व्यवसायीले असन्तुष्टि जनाउँदै आएका छन् ।

आफूखुसी महँगोमा व्यापार गर्दै आएका व्यवसायीले महोत्सवमा व्यापार गर्नै परे पनि आफूहरूको दरअनुसार मात्रै बिक्री गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । मेलामा बाह्य व्यापारीलाई ल्याउने र प्रत्येक महिना लाग्ने मेलाले स्थानीय बजार नै सुकाउन थालेको व्यवसायी राजु पाण्डे बताउँछन् ।

 

‘हामीलाई सिध्याउने खेल भइरहेको छ, दैनिक कर बुझाउने हामीले तर मेलामा बाहिरका व्यापारी आएर मुनाफा कमाउने,’ उनले भने, ‘नागरिकबाट लाखौं रुपैयाँ असुल्ने र कर छल्ने मेलाहरू बन्द गरिनुपर्दछ नत्र व्यापारिक मेलामा स्थानीय व्यवसायीलाई मात्रै व्यापार गर्न दिनुपर्छ ।’ 

यो हिउँदमा मात्रै सुर्खेतमा आठवटा मेला आयोजनाको तयारी भइरहेको छ । हिउँद लाग्नेबित्तिकै पश्चिम नेपालका अधिकांश ठूला सहर संगीतले गुन्जायमान हुन्छन् । महोत्सवले आयोजक र निश्चित व्यवसायीको खल्ती भर्नेबाहेक केही नहुने अर्का व्यवसायी खगेन्द्र भट्टराई बताउँछन् । व्यवसायीका यस्ता भनाइबाट नै साबित हुन्छ कि उनीहरु आफूबाहेक अरू कसैले ग्राहकलाई सामान उपलब्ध गराओस् भन्ने चाहना राख्दैनन् । 

हिसाबकिताब नै हुँदैन

कात्तिकमा मात्रै आदिवासी जनजाति महासंघले बुद्ध सरोवर निर्माणका लागि महोत्सव सम्पन्न गरेको छ । आयोजकले मौखिक हिसाब दिए पनि आधिकारिक रूपमा केकति कमाइ भयो भन्ने सार्वजनिक गर्न सकेको छैन । यसअघि विभिन्न बहानामा आयोजना गरिएका महोत्सवका आयोजकले आर्थिक कारोबार सार्वजनिक नगरेको स्थानीयको गुनासो छ । गरेकाले पनि आम्दानी र खर्च मिलाएर बराबर देखाउने गरेको उनीहरुको भनाइ छ । 

एकहप्ते महोत्सवमा करोडौंको कारोबार हुने भए पनि त्यो निश्चित व्यक्तिको खल्तीमा जाने गरेको छ । सुर्खेतमा मात्रै होइन, दैलेख, अछाम, कैलाली र दाङलगायतका क्षेत्रमा हुने अधिकांश रमाइलो मेला महोत्सवको आर्थिक कारोबार सार्वजनिक हुँदैनन् । जसका कारण मेला केही समूहको मिलेर खाने माध्यम भएको छ । करोडौंं रकम उठे पनि आयोजकले आफूहरूको व्यवसाय प्रवद्र्धनका लागि केही खर्च गर्ने र बाँकी कलाकार र मेला व्यवस्थापनमा खर्च गरी सक्ने गर्छन् । 

प्रत्येक वर्ष हुने मेला महोत्सवको भारतीय व्यवसायी एसके शर्माले केही रकममा ठेक्का लिने र चलाउने गरेको व्यवसायीको गुनासो छ । ‘धेरै वर्षदेखि भारतीय व्यवसायीले नै ठेक्कामा चलाइरहेका छन्, यसपटक पनि ३५ लाखमा सम्झौता भएको सुनिएको छ,’ पाण्डेले भने, ‘हामीलाई प्रतिबन्ध लगाउने तर करोडौं रकम भारतमा जाने ? कमाइ खाने भाँडो हो भन्ने जान्दा पनि अनुमति दिने सरोकारवाला निकायका व्यक्तिको समेत यसमा संलग्नता छ ।’ 

मेला महोत्सव आयोजना गन स्थानीय निकायले नै अनुमित प्रदान गर्छ । स्थानीय सरकारले मेला महोत्सव लगाउन सक्ने भए पनि व्यवस्थापनमा समस्या हुँदा निजी समूहलाई अनुमति प्रदान गर्र्दै आएको वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल बताउँछिन् ।

 

‘स्थानीय उत्पादन, पर्यटन र कृषिका साथै आर्थिक समृद्धिका लागि मेलाको अनुमति दिइन्छ,’ उनले भनिन्, ‘तर यहाँ निश्चित व्यत्तिले कमाइ खाने भाँडो बनाएका छन्, हामी तत्कालै कार्यविधि बनाउँछौं र स्थानीय व्यवसायीको हित प्रवद्र्धनमा जोड दिनेछौं ।’ 

मेला तथा महोत्सव व्यवसायिक प्रयोजनका लागि नै आयोजना हुन्छन् । तर, स्थानीयको जीवनस्तर उकास्ने दिशामा कुनै पनि लगानी भएको पाइँदैन । स्थानीय उत्पादन प्रवद्र्धन भन्ने तर महोत्सवस्थलमा राखिने स्टलमा नै स्थानीय उत्पादनले स्थान पाउँदैनन् । आर्थिक लोभमा परी आयोजकले बाह्य व्यवसायीलाई नै अनुमति दिने गर्दछन् । 

कृषि, जडीबुटी र पर्यटन प्रवद्र्धनका नाममा रकम असुल्ने कार्य भइरहँदा नियमनकारी निकाय भने मौन छन् । महोत्सवअघि सामाजिक कार्यका लागि केही गर्ने प्रतिबद्धता जनाएका आयोजक कार्यक्रम समापनपछि हराउँछन् । यस्तै महोत्सवस्थलमा मनोरञ्जनका लागि ल्याउने विभिन्न खेल सुरक्षित छन् वा छैनन् भन्ने अनुगमन पनि कसैले गरेको पाइँदैन ।

 

प्रतिक्रिया दिनुहोस्