नेपाल प्रहरीमा ३,५९६ दरबन्दी थप



काठमाडौं : नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालयलाई जनपद र प्राविधिकतर्फ गरी रिक्त दरबन्दीका लागि भर्ना प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

नेपाल प्रहरीमा हाल जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ । तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ । जुन संख्या पुरानो स्वीकृत दरबन्दीभन्दा ११ हजार ६०४ कम हो । नयाँ दरबन्दी थप भएसँगै प्रहरीमा कुल दरबन्दी ७९ हजार ५ सय २३ पुगेको छ ।

पुरानो दरबन्दीबाट समेत गरी अब नेपाल प्रहरीमा कुल १५ हजार २ सय दरबन्दी रिक्त हुन आउँछ । थप गरिएको जनशक्ति पदपूर्ति गर्दा समेत प्रहरीमा पुरानो रिक्त दरबन्दीको व्यवस्थापन गर्न प्रहरीलाई साटफेरमै चल्नुपर्ने बाध्यता छ ।

प्रहरी नेतृत्वले सरकारलाई अपुग दरबन्दी थप गरेर प्रहरीको काम कारबाही सहज र चुस्त–दुरुस्त हुने गरी निर्णय गर्न आग्रह गरेको थियो । सरकारबाट थप दरबन्दी स्वीकृत भएसँगै कार्यान्वयनका लागि गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थप भएका दरबन्दीमा प्राविधिक १ र प्रशासनतर्फ २ गरी ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्राविधिक र जनपदतर्फ गरी २/२ गरी कुल ४ प्रहरी उपरीक्षक (एसपी), ९ जनपद र १२ प्राविधिक गरी २१ प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा २७ जनपद र २० प्राविधिक गरी ४७ प्रहरी निरीक्षक (इन्सपेक्टर) पद छन् ।

यसैगरी, प्रहरी नायब निरीक्षक ८६ (सई), प्रहरी सहायक निरीक्षक (असई) २ सय ९७ जनाको दरबन्दीसमेत स्वीकृत भएको छ । यस्तै, ६ सय ८३ हबल्दार, २ हजार २ सय १६ प्रहरी जवान, २ सय ३९ जना कार्यालय सहयोगी गरी कुल ३ हजार ५ सय ९६ दरबन्दी स्वीकृत भएको हो ।

स्वीकृत दरबन्दी : ७५,९२७
नयाँ स्वीकृति : ३,५९६
कार्यरत प्रहरी : ६४ हजार ३ सय २३
पुरानो रिक्त : ११, ६०४

थप जनशक्तिअन्तर्गत नेपाल प्रहरीमा प्राविधिकतर्फ मात्रै १ सय २९ जनाको दरबन्दी थपिएको हो । एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २०लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो ।

‘समयअनुकूल प्रहरी संगठनलाई चुस्त दुरुस्त बनाउन तथा साधन स्रोत, जनशक्ति र संरचनाको विकासलाई वर्तमान गृह मन्त्रालयको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले उच्च प्राथमिकताका साथ गति दिएकाले रिक्त दरबन्दीमा छिट्टै पदपूर्ति सुरु हुन्छ,’ प्रवक्ता पोखरेलले भने । उनले प्रहरी संगठनको स्रोत, साधन विकास गर्ने क्रममा सरकारबाट दरबन्दी थप भएको र यसले प्रहरीलाई थप चुस्त–दुरुस्त बनाउने जनाए ।

रिक्त हुँदा सुरक्षा भार

हाल नेपाल प्रहरीले जनशक्ति अभावबीच एक प्रहरी बराबर पाँच सयभन्दा बढी नागरिकको सुरक्षा गरिरहेको छ । प्रहरीले कम जनशक्ति र साधन स्रोतको अभावबीच पनि संयुक्त राष्ट्रसंघ (यूएन)ले तोकेको अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढीको संख्यामा नागरिकको सुरक्षा गरिरहेको हो ।
यूएनले प्रविधिले सम्पन्न विकसित मुलुकलाई आधार बनाएर डेढ दशकअघि निर्धारण गरेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार १ प्रहरीले ३ सय ३३ जनाको सुरक्षा गर्नुपर्छ । तर, नेपालमा भने कार्यरत प्रहरीलाई मात्रै आधार मान्दा एक प्रहरीको भागमा ४ सय ६७ जनाको सुरक्षाको जिम्मेवारी छ । यसकारण, प्रहरीले सामान्य अवस्थामा समेत दबाब झेल्दै आएको छ ।

जनशक्ति रिक्त हुने कारण बढ्दो राजीनामा

प्रहरीभित्र हाल प्रहरी निरीक्षकभन्दा तलका प्रहरी अधिकृत तथा जवानले विविध कारण देखाउँदै राजीनामा दिने क्रम बढ्दो छ । जसका कारण प्रहरी संगठनमा दरबन्दी रिक्त हुने क्रम बढ्दो अवस्थामा छ । प्रहरीमा तल्लो तहका अधिकृत तथा जवानले सेवा सुविधाको कमीका कारण आर्थिक रूपमा असुरक्षित महसुस गरेर अन्य पेसामा आबद्ध हुन प्रहरीबाट राजीनामा गर्ने गरेको बताउने गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्