जनावरले बढ्दै सवारी दुर्घटना



काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्र्तगत बाराको अम्लेखगञ्जदेखि रौतहटको चपुर खण्डमा पर्ने पथलैया जङ्गलमा जङ्गली जनावरका कारण दुर्घटनाको जोखिम बढेको छ । दैनिक हजारौँ सवारीसाधन हिड्डुुल गर्ने सडकमा जङ्गली जनावरले एक्कासी सडक वारपार गर्दा जोखिम बढेको हो ।

बासस्थान र आहाराको खोजीमा राजमार्गमा दिनको समयमा बादर, हरिण, निलगाई, बदेल तथा रातको समयमा हात्ती लगायतका जङ्गली जनावर निस्कदा यात्रा असुरक्षित हुन थालेको सवारी चालकहरुले बताएका छन् ।

वन जङ्गलमा पाइने कन्दमूल र फलफूलका बिरुवा मासिँदै जादा आहारको अभावमा वन्यजन्तुहरु राजमार्गमा आउने गरेको जानकारहरु बताउछन् । राजमार्गमा हिड्ने यात्रुहरुले रमाइलोका लागि बादरलाई खानेकुरा दिँदा सडकमा बादरको सङ्ख्या बढ्ने गरेको छ ।

सवारीसाधनको चाप रहेको सडकखण्डमा बादरको चापका कारण सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक विश्वविजय ढकालले बताए। पूर्व–पश्चिम राजमार्गमा सवारीको चाप दैनिक एकैनासको हुने र जङ्गली जनावरले अचानक सडक वारपार गर्दा दुर्घटनाको जोखिम दैनिक बढ्ने गरेको ट्राफिक प्रहरी निरीक्षक ढकालको भनाइ थियो ।

अमलेखगञ्जदेखि चपुरसम्मको ५१ किलोमिटरमध्ये ४७ किलोमिटर सडक जङ्गल क्षेत्र रहेको छ । जङ्गलमा कन्दमूल र फलफूल पाइने भएपनि विभिन्न सवारी साधनमा यात्रारत् यात्रुले विभिन्न खाने कुरा दिने गरेका कारण जङ्गली जनावर सडकको छेउछाउमा आउने गरेका छन् ।

ठूलो जङ्गल भएका कारणपनि एक भागबाट अर्को भागमा वारपार गर्ने गर्दछन् । त्यहाँको ४७ किलोमिटर मध्ये चार किलोमिटर एकतर्फी र बाँकी ४३ किलो मिटर दुवैतर्फ जङ्गल छ ।– रासस

प्रतिक्रिया दिनुहोस्