प्रहरी अपरेशन हुँदा यसरी भाग्न सफल भए विप्लव



दाङ: दाङबाट विप्लव नेकपाका २१ जना नेताहरु पक्राउ परेपछि सबैमा कौतुहलता छाएको छ कि यति धेरै संख्यामा नेता कार्यकर्ताहरु कसरी पक्राउ परे ? ती पनि विप्लव नेकपाको सांगठनिक संरचनाअनुसार छानिएका कमाण्ड, व्युरो तथा जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरु ! त्यो पनि वैठक स्थलबाटै एकै पटक ।

त्यसो त प्रहरीले विप्लव समूहको प्रतिवन्धित नेकपाका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) आउजाउ गर्ने यो एरियाको प्रहरीले सुक्ष्म निगरानी गरिरहेको थियो ।


प्रहरीले विशेष सूचनाका आधारमा अप्रेशन गरेको उक्त स्थानमा तीन दिनदेखि ठूलो संख्यामा नेताहरु जंगलभित्र बसिरहेको सूचना विश्लेषण गरिरहेको थियो । ५ नम्बर प्रदेश प्रहरी प्रवक्ता डिएसपी नवराज पोखरेलका अनुसार विप्लव समूहको वैठक स्थालमै प्रहरीले छापा हानेको थियो । जंगलको बीचमा रहेको स्थानीय ज्ञानेन्द्र ओलीको खाली रहेको घरमा वैठक बसिरहेको थियो । त्यही वैठकमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीले छापा मारी २१ जना नेताहरुसहित विप्लव समूहका दस्तावेज, चन्दा विवरण, ३२ थान मोवाईल र केही हात हतियार बरामद गरेको जनाएको छ । चारैतिरबाट घेरा हाली वैठकस्थलमा प्रहरीले छापा मार्दा केही व्यक्तिहरु भाग्न सफल भएका थिए ।

विप्लव नेकपा श्रोतका अनु्सार उक्त वैठकमा केही दिनअघि रोल्पामा हाईकमाण्डको वैठक सकेर महासचिव विप्लव पनि सहभागी हुन आएका थिए । प्रहरीले घेरा हालेको थाहा पाएपछि महासचिव विप्लवलाई भगाउन धेरै नेता गिरफ्तार हुन परेको श्रोतको दाबी छ । विप्लवलाई त्यहाँबाट केही नेताहरुको साथ भारततर्फ भगाईएको श्रोतले बताएको छ ।

प्रहरीले उक्त वैठकमा विप्लव पनि सहभागी हुने सूचनाका आधारमा ठूलै तयारीका साथ छापा मारेको थियो ।

प्रहरीले छापा मार्दा मध्ये रात भएको हुनाले केही व्यक्तिहरु भागेको हुन सक्ने र ती मध्ये विप्लव पनि हुन सक्ने प्रहरीले आंकलन गरेको छ । एक प्रहरी अधिकारी भन्छन् – मध्ये रात थियो । केही मान्छेहरु भागेको हुन सक्ने आशंका हामीले गरेका छौ ।

दाङ जिल्ला उत्तरी बेल्टका रोल्पा, रुकुम, प्युठान तथा सल्यानको आधार जिल्ला हो । खाद्यान्न देखि सेवासुविधा, यातायात र आवतजावतका साथै भूरणनीतिक महत्वका हिसाबले पनि यो निकै चल्ती र चहलपहलको जिल्ला हो । विप्लव नेकपाको समर्थक, शुभचिन्तक तथा कार्यकर्ताहरुको सापेक्षित सघनता रहेका उत्तरी बेल्टका यी चार जिल्लाका मानिसहरु दाङ जिल्लाको चारैतिर छरिएर रहेका छन् ।

दाङको भूगोल भारतीय सीमानाकासँग जोडिएको छ । ती सीमा नाकाहरुमा पहाडी गाउँहरुबाट झरेका मानिसहरु छन् । अत्यन्तै दुखकष्टका साथ सीमानाकामा जीवन बिताइरहेका यी गाउँलेहरु विद्रोहीका भरपर्दा साथी बन्न जान्छन् । यसका दुईवटा प्रमुख कारण छन् ः एउटा हो, त्यहाँ नेपालको भूगोल र माटो त छ, तर सरकार छैन ।

सरकारबाट प्राप्त हुनु पर्ने कुनै पनि सेवासुविधा वा सुरक्षा र संरक्षणको प्रत्याभूति त परै जाओस्, आभाषसम्म हुँदैन । आफ्नै गाउँठाउँका विद्रोहीहरु पुग्दा उनीहरु नै स्थानीयका सहयोगी र भरपर्दा साथी हुन जान्छन् । नेपाल सरकारका प्रहरीले पनि त्यहाँ पुग्नु भनेको चन्द्रमामा पुगेको जस्तो ठान्छन् । यो कुरा सरकारका लागि फूर्ति देखाउने नभएर, गम्भीर र सोचनीय विषय हो ।

दोस्रो कुरा, सीमा इलाकामा नेपालीहरु निकै कठीन जीवनयापन गरिरहेका छन् । दुई पिण्डबीचको शुन्य गुरुत्वको अन्तरीक्ष जस्तै छ यहाँ । सरकार काठमाडौंको सिंह दरवारभित्र कोठामा छ । पुलिस÷सेना लमही, घोराही र तुल्सीपुरमा छन् । बेलाबखत मात्र सीमा इलाकामा भारतीय सीमा प्रहरीहरुको उपद्रो चल्ने गर्छ । त्यसैले गर्दा पनि सीमामा बसेका नेपालीहरुको सहयोगी विद्रोहीहरु हुने गरेका छन् ।

ठीक यही सामाजिक, मनोवैज्ञानिक तथा व्यवहारिक जीवनचर्यामा चलिरहेको दाङ जिल्लाको भारतीय सीमा इलाकासँग जोडिएको मुग्रेठा खोलामा ६÷७ घरको सानो वस्ती रहेको छ । गाउँसम्म पुग्न न त मोटर बाटो छ, न त सजिलैसँग हिंडनका लागि गेरोटो बाटो पनि । झाडी, जंगल र भीरपखेरा पार गरेर बल्ल पुगिन्छ त्यहाँ ।

हुन त राजपुर गाउँपालिका देउखुरीको समथर फाँट रहेको राप्ती खोलासम्म फैलिएको पनि छ । तर मुग्रेठा गाउँ यो सुविधाबाट बञ्चित छ । सीमाक्षेत्रस्थित यही मुग्रेठा खोलामा रहेको निकै सानो बस्तीबाट नेपाल प्रहरीले विप्लव नेकपाका २१ जना नेताहरुलाई पक्राउ गरेको थियो ।

पहिलेदेखि नै विप्लव नेकपाका नेता तथा कार्यकर्ताहरु यो गाउँमा आउनेजाने गर्छन् भन्ने सूचना प्रहरीलाई थियो । यो गाउँ प्रहरीको निगरानीमा थियो, तर दुर्गम गाउँ भएकाले निगरानीमा निरन्तरता कायम हुन सकेको थिएन । यही निरन्तरता नरहनुका कारण विप्लव नेकपाका नेता तथा कार्यकर्ता पहिले नै त्यहाँबाट पक्राउ गर्नबाट जोगिदै आएका थिए ।

राप्ती अञ्चलका पाँचवटा जिल्लाहरुमा विप्लव नेकपाको केही चहलपहल बढेपछि केन्द्रीय नेताहरुलाई कब्जा गर्न प्रहरीले ती सबै जिल्लाहरुमा सक्रियता बढायो । नाकाहरुमा पनि निरन्तर निगरानी राख्न थाल्यो । सीमा क्षेत्रका मुग्रेठालगायतका अन्य गाउँहरुमा पनि प्रशासनको अविश्राम निगरानीका आँखाहरु परे ।

नभन्दै एक दिन मुग्रेठाको गाउँमा नयाँ मानिसहरु एकदुई÷एकदुई गरी भित्रिने क्रम सुरु भयो । यसको बारेका तत्काल प्रहरी कार्यालयमा गोप्य रुपमा सूचना पुग्यो । थप सूचना संकलनका लागि सादा पोशाकमा प्रहरी खटाइए । केन्द्रीय नेतासहितको राप्ती ब्यूरो बैठक बस्दै गरेको पुष्टि भयो । यसका लागि प्रहरीले प्रारम्भिक सूचना संकलन देउखुरीको गढवा र राजपुरबाट गरिरहेको थियो ।

हतियार छ कि छैन र कति जना छन् भन्ने आन्तरिक सर्भे र भूगोल तथा बस्तीको सप्ठेरो–अप्ठेरो अनि ब्याक फोर्स छ वा छैन भन्ने बाह्य सर्भे तथा रेकी दुवै पूरा भएपछि योजनाअनुसार जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गढवाका प्रहरी फौजले उक्त वस्ती घेरा हालेर मध्यकमाण्ड इञ्चार्ज तथा विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ सहित २१ जना सबैलाई पक्राउ गर्यो । कारवाहीका लागि परिचालित प्रहरी फौज गाडी जाने ठाउँसम्म पुगेर पनि थप तीन घण्टा स्पिडका साथ जंगलको बाटो पार गरी मुग्रेठा पुगेको थियो ।

मुग्रेठा गाउँ पुग्दा बैठकस्थल वरपर विप्लवका युवाहरु सेन्ट्री बसेको त्यहाँ सादा पोसाकमा परिचालित प्रहरीहरुले जानकारी गराएपछि प्रहरी फौजले पूर्व योजनामा तत्काल केही आवश्यक निर्णय लिनु परेको थियो । बदलिएको पछिल्लो निर्णयअनुसार प्रहरीले रुट परिवर्तन गरेर केही समयभित्रै गाउँ घेरी मुख्य सेल्टर घर आफ्नो कब्जामा लिएको थियो । उक्त घटनामा कसैको हताहती भएको भने देखिएको छैन ।

अनुसन्धानमा खटेका प्रहरीका अनुसार गिरफ्तार परेकाहरुले टेक नाम र भिन्न ठेगाना बताउने गरेकाले अनुसन्धानमा कठिनाइ परिरहेको छ । तथापि हाल प्रहरी हिरासतमा रहेका उनीहरुलाई शुक्रवारमात्र सार्वजनिक गरिने दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एस्पी) जनक भट्टराईको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्