सवारी अनुमतिपत्र : वितरण र नवीकरण सुर्खेतमै



 लाइसेन्स नविकरण सेवाको उद्घाटन गर्दै अर्थमन्त्री ज्वाला 

सुर्खेत :  यातायात व्यवस्था कार्यालय सुर्खेतले सवारी चालक अनुमतिपत्र वितरण र नवीकरण अबदेखि सुर्खेतबाटै गर्ने भएको छ ।

 

यसअघि नवीकरण गर्नका लागि नेपालगन्ज धाउँदै आएका सवारी धनीहरु अबदेखि सुर्खेतबाटै सेवा पाउने भएका छन् । यसकासाथै कार्यालयले केही समयमै सवारी चालक अनुमतिपत्र पनि सुर्खेत कार्यालयबाटै वितरण गर्ने जनाएको छ । 

 

यसअघिसम्म राजश्व मात्रै उठाउँदै आएको कार्यालयले बिहीबारदेखि नै सवारी चालक अनुमतिपत्र नवीकरण सेवा सुरु गरेको छ । 

 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डम्मर खड्काको अनुमति पत्र नवीकरण गरेर कार्यालयले आफ्नो सेवा सुचारु गरेको हो ।

 

नवीकरण सेवा उद्घाटनपछि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा प्रभावकारी बनाउन प्रदेश सरकार लागि परेको जानकारी दिए । उनले सेवालाई प्रभावकारी र चुस्त बनाउन समेत कार्यालयलाई निर्देशन दिएका छन् । 

 

कार्यालयका निमित्त प्रमुख धनश्याम बोगटीका अनुसार कार्यालयबाट अबदेखि सवारी साधन दर्ता, चालक अनुमति पत्र वितरण, नविकरण, परीक्षा सञ्चालन समेत गर्नेछ ।

 

नवीकरण सेवा सुरू भए पनि अन्य कामका लागि भने केही समय लाग्ने कार्यालयका निमित्त प्रमुख बोगटीले जानकारी दिए । जनशक्ति पूर्ति, विद्युतीय तथा सञ्चार प्रणालीको आवश्यक व्यवस्थापनपछि कार्यालयबाट सबै सेवा प्रदान गरिने छ । 

 

प्रतिक्रिया दिनुहोस्