प्रदेश नं ३ ले संविधानविपरीत ऐन बनाएको छैन : सभामुख श्रेष्ठ



हेटौँडा : प्रदेश नं ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र सङ्घीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताएका छन् ।

युएनडिपीको सहयोगमा नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित संसदीय पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशसभाले हालसम्म ४५ ऐन निर्माण गरिसकेको जानकारी गराए । सञ्चारमाध्यमलाई लक्षित गर्दै सभामुख श्रेष्ठले सञ्चारमाध्यमले सकारात्मक विषयवस्तुलाई भन्दा पनि नकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने गरेकाले त्यसो नगर्न अनुरोध गरे ।

उनले नेपाल दक्षिण एशियामै छिटो–छिटो आर्थिक विकास गर्ने राष्ट्रका रूपमा अगाडि बढ्दै गएको प्रसङ्ग सञ्चारमाध्यमको विषयवस्तु नबन्नु दुखद् भएको बताए । देशले भूकम्प र नाकाबन्दीका बीच पनि अर्थतन्त्रलाई मजबुत बनाएर विकासोन्मुख राष्ट्रबाट विकसित राष्ट्र निर्माणको दिशा लिइसकेको उल्लेख गर्दै सभामुख श्रेष्ठले नेपालको यो स्थितिको चर्चा विदेशी सञ्चरमाध्यमले गर्न थालेको उल्लेख गरे । (रासस)

प्रतिक्रिया दिनुहोस्