नरसंहार काण्डमा गुपचुप साथ: सिडिओ, एसपी र सरकारी वकिललाई जेलको बास



काठमाडौं : रौतहटको राजापुरमा भएको नरसंहार काण्डमा तत्कालिन प्रहरीका प्रशासनका स्थानीय प्रमुखहरु पनि तानिएपछि उनीहरुलाई सरकारी वकिलको कार्यालय रौतहटले बयानका लागि बोलाउने तयारी गरिरहेको छ । त्यसैगरी अनुसन्धानमा संलग्न प्रहरीले पनि उनीहरुको बयान लिने प्रकृया अगाडी बढाएको छ ।

नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री तथा सांसद मोहम्मद अफताव आलमको गिरफ्तारीसँगै राजपुर नरसंहार घटनाको प्रमाण नष्ट गर्ने रौतहटका तत्कालिन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दुर्गा भण्डारी,शसस्त्र प्रहरीका एसपी रामकृष्ण लामा र सरकारी वकिल कार्यालयका प्रमुख ध्रुवमणी ज्ञवाली सहित त्यतिबेला अनुसन्धानमा संलग्न अनुसन्धान अधिकृतहरु तानिन पुगेका छन् ।

उनीहरुलाई अब बयानका लागि बोलाउने तयारी भइरहँदा उनीहरुले यति ठूलो घटनालाई पनि गुपचुप पारिएको भन्दै कारबाही हुने भएको छ ।

राजपुर नगरपालिका–४ मा २७ चैत २०६४ मा भएको नरसंहार घटनाका प्रमाण नष्ट गर्ने, प्रतिबेदन एवं मुचुल्का कमजोर बनाउने, आलमलाई बचाउन मुद्दा कमजोर बनाउने लगायत कार्यमा संलग्न रहेको आरोप उनीहरुमाथि छ ।

त्यसो त नेपाल प्रहरीका तत्कालिन रौतहट प्रमुख एसपी लक्ष्मण न्यौपानेको टिकापुर घटनमा मृत्यु भइसकेको छ । रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ । हाल राजपुर नगरपालिका–४ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत २०६४ को साँझ ६ः१५ मा बम विस्फोट भयो ।

१०–१२ जनाभन्दा बढी मान्छे बम बनाउँदै गर्दा अचानक विस्फोट भई घाइते भए । घाइतेको उपचार गराउनुको साटो उनीहरुलाई सोही अवस्था इँटाभाट्टामा हालेर हत्या गर्ने घटनाका मुख्य नाइके आलम अहिले प्रहरी नियन्त्रणमा छन् ।

पहिलो संविधानसभा निर्वाचनको चुनावमा जनतालाई आतंकित बनाएर बुथ कब्जा गर्न बनाउँदै गरेको बम अचानक विस्फोट भएपछि घाइतेलाई उपचार गर्नुको सट्टा प्रमाण नष्ट गर्न बम बनाउनेहरूलाई नै जिउँदै इँटाभट्टामा हाल्ने काम आलमले नै गरेको पीडितहरुले उजुरी गरेका थिए ।

आलम, उनका भाई महताव आलम, शेख भदईन, शेख सेराज र शेख मोविविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्