ताप्लेजुङबाट हराएकी बालिकाको मोरङबाट उद्धार 



                                             बालिका अपहरण मुद्दामा पक्राउ परेका दुई महिला ।

 

विराटनगर :  ताप्लेजुङको निउरादिन गाउँपालिका ८ बाट १० दिन अघि हराएकी १४ वर्षीया बालिकालाई प्रहरीले मोरङको उर्लाबारीमा भेटेको छ ।

 

उर्लाबारी ८ स्थित विना लिम्बूको घरमा लुकाएर राखेको अवस्थामा बिहीबार राति इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना नेतृत्वको प्रहरी टोलीले बालिकाको सकुशल उद्धार गरेको हो ।

बालिका ताप्लेजुङकै परमसिंह देवी माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गरेको खुलेको छ । मंसिर २५ गते बजार जान भनेर हिंडेकी बालिका घर नफर्किएपछि आफन्त र परिवारका सदस्यले खोजी थालेका थिए । उनीहरुले प्रहरीलाई पनि खबर गरेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार बालिकालाई मोरङतर्फ ल्याएको सूचनाका आधारमा खोजी गर्दै जाँदा उर्लाबारीकी विनाको घरमा लुकाएर राखेको अवस्थामा उद्धार गरिएको हो ।

 

उनले झापाको बिर्तामोड घर र ताप्लेजुङको निउरादिन ८ माइत भएकी सरिता लिम्बू (राई) ले बालिकालाई अभिभावकको अनुमतिबिना ललाइफकाई मोरङको उर्लाबारी ल्याएर विनाको घरमा राखेको पत्ता लागेको बताए । ललाइफकाई बालिकालाई लिएर आउने २५ वर्षीया सरिता र घरमा लुकाएर राख्न सहयोग गर्ने ३२ वर्षीया विनालाई प्रहरीले पक्राउ गरेको छ । 

बालिकाका बुवाले आफूहरुसँग सरसल्लाह नगरीकन सरिताले उमेर नपुगेकी छोरीलाई लिएर हिंडेको बताए । उनले घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान गरेर दोषीमाथि कानुनी कारबाही अघि बढाउनुपर्ने माग गरे । परिवारका सदस्यले बालिकालाई भारत पु¥याउने योजनाअनुसार मोरङ ल्याइएको दाबी गरेका छन् । 

 

उद्धार गरिएकी बालिकाले मेरी दिदीको घरमा जाऊँ भनी सरिताले भनेका कारण आफू उनीसँगै आएको प्रहरीलाई बताएकी छन् । बालिकालाई शुक्रबार दिउँसो अभिभावक बोलाएर जिम्मा लगाइएको डिएसपी श्रेष्ठले बताए । उनले पक्राउ परेका महिलालाई अनुसन्धानका लागि ताप्लेजुङ प्रहरीको जिम्मा लगाइएको बताए । 

सरिताले घुम्न जाने रहर गरेपछि बालिकालाई ल्याएको प्रहरीसँग बताएकी छन् । उनले कुनै अवैध धन्दा र काममा लगाउन नभईकन घुमाउन लिएर हिंडेको र घुमफिर सकिएका कारण शनिबार घर फर्कने तयारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइन् ।

‘सरिताको घर बिर्तामोड भए पनि मोरङमा ल्याएर बालिकालाई राखेका कारण घटना शंकास्पद छ,’ डिएसपी श्रेष्ठले भने, ‘विभिन्न कोणबाट सोधपुछ गर्ने काम भइरहे पनि केही कुरा खुल्न सकिरहेको छैन । घटनाको विस्तृत रुपमा अनुसन्धान गरिएपछि मात्रै वास्तविक कुरा बाहिर आउने र ताप्लेजुङको घटना भएकाले उतैबाट अनुसन्धान सुरु हुने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्