डेढ वर्षमा पनि टुंगिएन नेकपाको एकता



काठमाडौं : प्रदेश १ : उदयपुर र विराटनगर महानगरमा शपथ बाँकी 

उदयपुर जिल्ला र विराटनगर महानगर कमिटीको शपथ टुंगिन बाँकी छ । बाँकी जिल्लामा गाउँपालिका र नगरपालिकास्तरीय कमिटीको शपथ ग्रहण टुंगिएर वडास्तरीय कमिटीहरूको एकीकरण अन्तिम चरणतिर पुगेको अध्यक्ष देवराज घिमिरेले बताए । ‘अधिकांश जिल्लाको वडासम्मै एकीकरण भइसकेको छ, बाँकीमा पनि छिट्टै हुन्छ,’ उनले भने ।

प्रदेश २ : संस्थापन–माधव नेपाल गुटको विवाद कायमै
प्रदेश २ मा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह एकैठाउँमा छन् । नेता माधव नेपाल र नेता मातृका यादवको समूह अर्कोतिर छन् । स्थानीय समीकरणका कारण दुई गुटबीचको लडाइँले बारा र पर्साबाहेकका जिल्लाको शपथग्रहण रोकिएको छ । इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु शाह समूहले वरिष्ठ नेता नेपाल र यादवमाथि कारबाहीको माग गरेको  छ । उता, नेपाल समूहमा खुलेका पूर्वमाओवादी समूहका नेताहरू रामचन्द्र झा, गोपाल ठाकुरसहित १९ जना केन्द्रीय सदस्यले मण्डल, स्थायी समिति सदस्य रघुवीर महासेठ र प्रभु शाहमाथि कारबाहीको माग गर्दै महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला कमिटी सदस्य बनाइएका पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई हटाएर योग्यलाई चयन गर्नुपर्ने माग आपूmहरूले उठाएको नेपाल समूहमा रहेका प्रदेश सहइन्चार्ज नागेन्द्रप्रसाद चौधरीले बताए ।

प्रदेश ३ : काभ्रेमा शपथ बाँकी, तीनवटै महानगरको भएन कमिटी विस्तार
प्रदेश ३ मा काभ्रेबाहेक १२ जिल्लाको एकीकरण टुंगिएको छ । प्रदेश सहइन्चार्ज हितबहादुर तामाङका अनुसार ३० असोजमा प्रदेश कमिटी बैठक राखिएकाले त्यसअगावै काभ्रेको पनि शपथ टुंग्याउने योजना छ । काठमाडौं, ललितपुर र भरतपुर महानगरमा अध्यक्ष र सचिवको शपथ भए पनि कमिटी एकीकरण भने अभैm भएको छैन ।

गण्डकी : जिल्ला–क्षेत्र र पालिका टुंगियो, वडा बाँकी 
गण्डकीका जिल्ला, क्षेत्र र स्थानीय तहअन्तर्गत गाउँपालिका र नगरपालिकास्तरीय कमिटीको एकीकरण टुंगिएको छ । तर, वडास्तरीय कमिटीको एकीकरण भने बाँकी रहेको प्रदेश सहइन्चार्ज किरण गुरुङले बताए । 

प्रदेश ५ : वडासम्मको एकीकरण सकियो, सेल कमिटी बन्दै 
एकीकरणमा प्रदेश ५ सबैभन्दा अगाडि छ । अध्यक्ष ओनसरी घर्तीका अनुसार १२ वटै जिल्लामा वडा तहसम्मको एकीकरण सकिएको छ । अब वडामातहत रहने सेल कमिटीहरू निर्माण भइरहेका छन् ।

कर्णाली : दुई जिल्लामा अझै टुंगिएन एकीकरण  
कर्णालीका १० मध्ये दैलेख र सुर्खेतका स्थानीय तहको एकीकरण बाँकी रहेको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले बताए । ‘८० प्रतिशत काम सकिएको छ, अब दुई जिल्लामा पालिकास्तरीय कमिटी मात्र टुंग्याउन बाँकी छ,’ बोगटीले भने, ‘त्यो पनि छिट्टै टुंगो लगाउँछौँ ।’ 

सुदूरपश्चिम : दार्चुला र बैतडीका केही स्थानीय तहको एकीकरण बाँकी 
दार्चुलाबाहेक आठ जिल्लाको एकीकरण टुंगिएको सहइन्चार्ज लक्ष्मण जोशीले बताए । दार्चुलाका केही गाउँपालिका र नगरपालिकाका पदाधिकारीको नामावलीमा पुनर्विचार गर्नुपर्ने भएकाले शपथग्रहण रोकिएको छ । त्यस्तै, बैतडीको केही स्थानीय तहमा शपथग्रहण हुन बाँकी छ । केही जिल्लाका वडा कमिटी पनि बन्न बाँकी छन् । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्