चौबिसौँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई कास्य पदक



काठमाडौं : रोमानियामा सम्पन्न चौबिसौँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले काँस्य पदक जित्न सफल भएको छ । नेपालमा सम्पन्न छैटौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमध्ये पाँच जना विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए ।

कार्यक्रममा नेपालका तर्फबाट नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईको नेतृत्वमा सात जनाको समूह सहभागी भएको थियो । यसैगरी सहायक टोली नेतामा रेजा थापासहित कनिष्ठ (जुनियर) तर्फ तीन र वरिष्ठ (सिनियर) तर्फ दुई विद्यार्थी सामेल थिए ।

नेपालका लागि एस्ट्रोनोमी तथा एस्ट्रोफिसिक्सको ओलम्पियाडमा यो उपलब्धि हालसम्मकै उच्च भएको अध्यक्ष भट्टराईले सुनाए। नेपाललगायत २० देश सम्मिलित प्रतियोगितामा नेपालका लागि राहुल रञ्जन साहले कास्य पदक हात पारेका हुन् ।

साह नेपालमा सञ्चालित छैटौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको जुनियरतर्फका नेपाल प्रथम हुन् । तीन चरणमा सञ्चालन हुने राष्ट्रिय एस्ट्रोनोमी प्रतियोगिताको प्रथम चरणमा जनकपुरको सिद्धार्थ शिशु सदनमा कक्षा १० मा अध्ययनरत साह हाल माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा अध्ययनरत छन् ।

नेपालबाट सिनियरतर्फ विश्व आदर्श सेकेन्डरी स्कुल, इटहरीका यमन आचार्य तथा सेन्टजेभियर्स स्कुल, जाउलाखेलका आकाश गुरुङ सहभागी भएका थिए । जुनियरतर्फ सिद्धार्थ शिशु सदन, जनकपुरका राहुल रञ्जन साह, सेन्टमेरिज स्कुल, जाउलाखेलकी सुरभी लुइँटेल तथा सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुल, घट्टेकुलोकी भूमि कायस्थ सहभागी थिए । – रासस

प्रतिक्रिया दिनुहोस्