जनकपुरमा सुरु भयाे अन्तर्राष्ट्रिय मैथिली सम्मेलन



जनकपुरधाम : जनकपुरमा शनिबार १६औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा मैथिली भाषा, साहित्य तथा संस्कृतिका ज्ञाताहरु सहभागी छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारलाई भाषा र साहित्यबारे कसरी अगाडि बढ्ने भन्ने नीति बनाउन सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले मैथिलीको लोग गाथा र लोकबोली अन्य भाषाको तुलनामा प्राचीन रहेको बताउँदै सम्मेलनबाट एउटा निष्कर्ष निकाल्दा नेपालको संविधान र नियमकानुनसमेतलाई ध्यान दिन आयोजकलाई सल्लाह दिए । 

उनले मिथिला संस्कृति बचाइराख्न विज्ञानसम्मत बनाउन पनि भाषा अभियानीलाई आग्रह गरे । ‘हामी आफ्नो कुरा राखिराख्दा, सम्मान खोजिराख्दा अरुका पनि कुरा र सम्मानमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

 

भाषाविद् डा. रामअवतार यादवले प्रदेश २ मा प्रमुख भाषा र कामकाजको भाषासमेत मैथिली हुनुपर्ने बताए । दोस्रो भाषाका रुपमा भोजपुरीलाई मान्यता दिनुपर्ने सुझाव उनको थियो । भोजपुरीका साहित्यकार अशोक अश्कले प्रदेश २ मात्र मिथिला र मैथिलीमात्र होइन, भोजपुरीलाई समेत अगाडि लग्ने कुरा गर्दा उपयुक्त हुने बताए । 

 

पत्रकार राजेश्वर नेपालीले मातृभाषाको विकासका लागि सबैले कार्य गर्नुपर्ने सुझाव दिँदै भाषणबाजीले मात्रै केही नहुने बताए । भाषालाई मात्र नभई भेषभूषामाथि समेत ध्यान दिनुपर्ने सुझाव उनको थियो । 

साहित्यकार अशोक कुमारले इतिहासबिनाको भूगोलको परिकल्पना गर्न नमिल्ने बताए । प्रदेश २ का नेतालाई इतिहास पढ्न सल्लाह दिँदै उनले भने, ‘तपाईंहरु पढ़्नुस् इतिहास, मैथिली र मिथिलाको फ्यान बन्न बाध्य बन्नुहुन्छ ।’

 

जनकपुरका पूर्वमेयर बजरंग साहले जर्मनीका विद्वान्ले पनि मिथिला र मैथिली पुरानो संस्कृति रहेको सिद्ध गरिसकेको बताए ।  मिथिलाको प्राचीन राजधानी जनकपुर अहिले पनि प्रदेश २ को राजधानीका रुपमा रहेको उनको भनाइ थियो । भारतका पूर्वराष्ट्रपति, प्रधानमन्त्रीसमेत जनकपुरलाई मिथिलाका रुपमा हेरेर सीताको नगरी भन्दै आउने गरेको उनको भनाइ थियो । उनले मिथिलाको प्राचीन परम्परा, इतिहास, पहिरन, संस्कृति सबैभन्दा उच्च रहेको ठोकुवा गरे ।

 

अधिवक्ता अशोक झाले आउने दिनमा मैथिलीको राम्रो भविष्य रहेको बताए । प्रदेश २ मा मैलिथीलाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउनुपर्ने उनको भनाइ थियो । मैथिली अभियानी प्रवीणनारायण झाले प्रदेश १ मा समेत मैथिली भाषालाई स्वीकार गर्न सुरु भएको बताए । भारतका जयनारायण यादवले मिथिला र मैथिलीको कुरा रामायणमा समेत उल्लेख भएको चर्चा गरे । 

कार्यक्रममा नेपाल र भारतका ६० भन्दा बढी साहित्यकारको उपस्थिति छ ।

 

मिथिला रत्नबाट तीनजना सम्मानीत

सम्मेलनका अवसरमा तीनजनालाई मिथिला रत्नले सम्मान गरिएको छ । 

सम्मानित हुनेमा सुप्रसिद्ध गायक रामा मण्डल, संस्कृतका विद्वान् र मौथिलीमा पुस्तक समेत निकालेका व्यक्तित्व भारतका डाक्टर जयनारायण यादव र स्व. योगेन्द्र साह छन् । साहलाई नेपालमा मैथिली नाट्य क्षेत्रमा योगदान गरेबापत सम्मान गरिएको हो ।

 

त्यस्तै मिथिला श्रीबाट भोजपुरी भाषाका विद्वान् वीरगन्जनिवाशी गोपाल अश्कलाई सम्मान गरियो भने अन्तर्राष्ट्रिय सद्भाव सम्मानले भारतका दीपक झालाई सम्मानित गरियो । मिथिला आर्टका कलाकार अजित साह ‘मुन्ना’, गायिका तनुजा चौरसिया र गायिका रश्मि रानीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा मैथिली लोक साहित्यका विविध आयाम र घरमुहा मैथिली उपन्यासको हिन्दी अनुवाद पुस्तकको लोकार्पण गरिएको थियो । त्यस्तै आयोजक संस्थाको तिरहुत स्मारिकासमेतको लोकार्पण गरियो ।

प्रतिक्रिया दिनुहोस्