पुसमा भैलोको रौनक



मुगु : सोरु गाउँपालिका–८, कच्चे गाउँकी १९ वर्षीया जुनदेवी रावल साथीसंगीनी बटुलेर हरेक साँझ भैलो भट्याउँछिन् । उनीमात्र होइन, जिल्लाका अधिकांश अविवाहित चेली भैलीमा रमाइरहेछन् ।

सबैतिर साँझ भैलोको उल्लास छ । अरू ठाउँमा तिहारमा हुने भैलो मुगुमा पुसमा हुन्छ । यसलाई स्थानीय भाषामा पुसे चेलीतिहार भनिन्छ । ‘भैली आएपछि सबैतिर रौनक छाएको छ,’ उनले भनिन् ।

पुस महिनाभर भैली खेलेर चामल, पैसा, तेल, नुन, दाल संकलन गरिने उनले बताइन् । भैली खेल्ने समूहका सबै जम्मा भएर खेतरपाखोबारीमा गई विभिन्न परिकार बनाएर खाने चलन छ ।

गाउँपिच्छे भैलीको चलन फरक–फरक छन् । मुन्दु, कोटिला, भिई, झ्यारी, नार्थपु, बामलगायत गाउँमा चेली आ–आफ्नो घरबाट चामल, चेल, दाल, दहीदूध, तरकारी लिएर गोठमै बसेर पकाएर खाने गर्छन् भने राति भैली भाकामा देउडा गाएर रमाइलो गर्छन् ।

छोरीचेलीले वल्लोपल्लो गाउँका युवालाई भैलो खान निम्तासमेत दिन्छन । पुरी, सेलरोटी, भात, मासु, खिर पकाएर निगालोको डालो वा टपरीमा युवालाई दिने गरिन्छ । चेलीको सगुन खाएबापत युवाले आफ्नो इच्छाअनुसार केही रकम दिन्छन् । स्थानीय भाषामा यसलाई छाप्री फर्काउने भनिन्छ ।

रमाइलोका लागि अनौपचारिक रूपमा केटीकेटीबीच विवाह गर्ने र नाचगान गरेर रमाइलो गरिन्छ । कच्चे, थार्प, गिलाहा, कार्कीबाडा, श्रीनगर छत्यालबाडा, भामबाडालगायत गाउँका किशोरी भने साथीसंगीमध्येको फराकिलो आँगन भएको घरमा जम्मा भएर भैली खेल्छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्