महराको थुनछेक बहस ‘हेर्दा हेर्दै’मा



काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराको आज (आइतबार)बाट शुरु भएको थुनछेक बहस ‘हेर्दा हेर्दै’मा राखिएको छ । पूर्व सभामुख महराविरुद्ध संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जवरजस्ती करणीको अभियोगमा अदालतमा दायर भएको मुद्दा उपर आज काठमाडौं जिल्ला अदालतमा शुरु भएको थुनछेक बहस ‘हेर्दा हेर्दै’ राखिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको हो ।

बन्द इजलासमा भएको बहसमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकाल सहभागी भएका थिए । त्यस्तै महराको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर सेसी, सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनालीलगायत बहस सहभागी थिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध ७ वर्षको कैद सजाय मागदावीसहित गत बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो भने महराको बयान शुक्रबार मात्रै सकिएको थियो ।

थुनछेक बहस सकिएपछि अदालले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश सुनाउने छ ।

प्रतिक्रिया दिनुहोस्