गौर नरसंहारकाण्ड : प्रहरीको खुलासा– ‘एसपी र आलमको सल्लाहमा घाइतेलाई भट्टामा हालिएको थियो’



प्रहरीका तत्कालीन आइजिपी राणासहित ३५ जना साक्षी राखेर आज मुद्दा दर्ता हुँदै, आलम जीवित रहुन्जेल जेल राख्न मागदाबी : नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर तथा रौतहटमा कार्यरत तत्कालीन सइ ईश्वरविक्रम शाहले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो ।’ अधिकारकर्मीहरूको तत्कालीन प्रतिवेदनले पनि घाइतेहरूलाई ट्र्याक्टरमा इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ ।

रौतहट : रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै मुद्दा दायर गर्न लागेको हो ।

अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले तत्कालीन प्रहरी अधिकारीहरूसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ । विस्फोटलाई लुकाउन त्यतिवेला सिंगो राज्य नै लागेको थियो । तर, अहिले भने त्यतिवेला चुप लागेका प्रहरी अधिकारी पनि मुखर भएका छन् ।

प्रहरीले घटनाको छानबिन कमजोर बनाउन मात्र होइन, अपराध गराउनसमेत भूमिका खेलेको खुलासा प्रहरीकै बहालवाला अधिकारीहरूले गर्न थालेका छन् । नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर तथा रौतहटमा कार्यरत तत्कालीन सइ ईश्वरविक्रम शाहले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो ।’ अधिकारकर्मीहरूको तत्कालीन प्रतिवेदनले पनि घाइतेहरूलाई ट्र्याक्टरमा इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ ।

विस्फोटमा घाइते भएका र इँटाभट्टामा मारिएका ओसी अख्तरका ससुरा समसुल मियाँले घाइतेलाई ट्र्याक्टरमा हालेर प्रहरीकै स्कर्टिङमा लगेको र जिउँदै इँटाभट्टामा हालेको आफूले देखेको बताएका थिए । उनले नयाँ पत्रिकासँग भनेका थिए, ‘बोरामा प्याक गरिएका घाइते र मृतकका शरीर ट्र्याक्टरमा लोड गरिएको थियो । प्रहरी भ्यानको स्कर्टिङसँगै ट्र्याक्टर खेततर्फ लाग्यो । पछ्याउँदै जाँदा मुस्ताफ आलमको इँटाभट्टामा भ्यान र ट्र्याक्टर रोकियो । त्यसपछि बोरामा प्याक गरिएका रक्ताम्मे शरीर इँटाभट्टामा हालिरहेको देखेँ । भट्टामा नछिरेका शरीरलाई खुकुरी र बन्चरोले छिनाल्दै भित्र हाले ।’

तत्कालीन एसपी लामाले सशस्त्र प्रहरीबाट अवकाश पाइसकेका छन् । उनी पक्षघातबाट पीडित भएकोले अहिले उपचारका लागि हङकङमा छन् । त्यसैले उनलाई बयानका लागि प्रहरीले हाजिर गराउन सकेको छैन । तर, पीडित र प्रत्यक्षदर्शीको मात्र होइन, जुनियर प्रहरी अधिकारीहरूको भनाइ पनि मिलेकोले घटनामा शीर्ष प्रहरी अधिकारीको मिलेमतो रहेको दाबी झन् स्पष्ट भएको छ । अझ, निर्वाचनको मद्दतका लागि देशैभर थप प्रहरी टोली खटिएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तत्कालिन डिएसपी पुरुत्तोषम कँडेलसमेत रौतहटमा खटिएका थिए । बम बिष्फोटको खबर सुनेपछि उनले घटनास्थल जानका लागि रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपानेसँग अनुमति मागेका थिए । तर, आफुलाई न्यौपानेलाई जान नदिएको दाबी कँडेलको छ । हाल प्रदेश नम्बर १ प्रहरी तालिम केन्द्रमा एसएसपीको रुपमा कार्यरत कँडेलले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोट भएको ठाउँमा जान खोजेको थिएँ, तर जिल्ला इन्चार्ज तथा एसपी लक्ष्मण न्यौपानेले तिमी नजाउ, जिल्लाकै अर्को टोली जान्छ भनेर रोक्नुभयो । त्यसपछि म जान सकिनँ ।’ उनले यो विषय लिखित रुपमै प्रहरीलाई कागज गरिदिएका छन् । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्