कालीकोटको खाँडागाँउमा भीषण आगलागी, ८० घर जलेर नष्ट



कालीकोट : जिल्लाको पलाता गाँउपालिका १ खाँडामा भीषण आगलागी हुँदा ८० घर जलेर नष्ट भएका छन् । आइतबार राति करिब २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।  करिब सात घण्टाको पैदलपछि पुगिने खाँडामा भर्खरै मात्र प्रहरी पुगेको छ ।

केही समयअघि मात्रै १६ जना प्रहरीको टोली घटनास्थल पुगेको र आगो निभाउने प्रयास जारी रहको स्थानीयले जानकारी दिएका छन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार आगो नियन्त्रणा बाहिर छ । थप सहयोगका लागि नेपाली सेनाको टोली थिर्पुबाट घटनास्थल जाँदैछ । 

आगलागीमा परी थुप्रै चौपायहरु जलेर मरेको, लत्ताकपडा, अन्नपातलगायत धनमालहरु जलेर नष्ट भएको छ ।

पलाता सुख्खाग्रस्त क्षेत्र हो । पानीको स्रोत नजिक नभएकोले आगलागी नियन्त्रण गर्न कठिन भएको छ । मानवीय क्षतिबारे जानकारी प्राप्त भएको छैन । 

घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट २१ कोष टाढा बाजुरा नजिक पर्छ ।

प्रतिक्रिया दिनुहोस्