कर नतिरे भारतीय टोलीले विश्वकप गुमाउने चेतावनी



एजेन्सी : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) लाई ३१ डिसेम्बरभित्र कर तिर्न निर्देशन दिएको छ । सन् २०१६ मा भारतले टी–२० विश्वकप क्रिकेट आयोजना गर्दा आयोजक बिसिसिआईले १ अर्ब ६० करोड भारु सरकारलाई नबुझाएको आइसिसीले दाबी गरेको छ । आइसिसीले सरकारलाई १० दिनभित्र कर नतिरे बिसिसिआईले सन् २०२३ को एकदिवसीय विश्वकप आयोजना गर्न नपाउने चेतावनी पनि दिएको छ । 

बिसिसिआईलाई निर्देशन दिने व्यक्ति पूर्वअध्यक्ष शशांक मनोहर नै हुन् । उनकै अध्यक्षतामा सम्पन्न आइसिसी बैठकले बिसिसिआईलाई १ अर्ब ६० करोड भारु कर तिर्न भनेको हो । टी–२० विश्वकप आयोजना गर्दा बिसिसिआईले स्थानीय र केन्द्र सरकारलाई कर नबुझाएको भन्दै अहिले पनि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । अदालतमा मुद्दाको सुनवाइ भइरहेका बेला आइसिसीका अध्यक्ष शशांकले बिसिसिआईमाथि कर तिर्न कडा दबाब दिएका छन् । बिसिसिआईले आइसिसीले दिएको चेतावनीपछि कुनै प्रतिक्रिया दिएको छैन । 

दुई प्रतियोगिता गुमाउन सक्ने:

आइसिसीले दिएको समयमा बिसिसिआईले सरकारलाई कर नतिरे सम्भवतः सन् २०२१ को च्याम्पियन्स ट्रफी तथा २०२३ को एकदिवसीय विश्वकप आयोजना गर्नबाट वञ्चित हुने सम्भावना छ । ‘हामीले दिएको समयमा कर बुझाउँदा भारतले आउँदो केही वर्षभित्र दुई ठूलो क्रिकेट प्रतियोगिता आयोजना गर्न पाउँछ । यदि कर बुझाइएन भने सम्भवतः च्याम्पियन्स ट्रफी र विश्वकप आयोजनाको मौका गुमाउन सक्छ,’ आइसिसीले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । भारतमा हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको अफिसियल लाइभ गर्ने स्टार टिभीले टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण गरेको थियो । स्टार टिभीले विज्ञापन र अन्य स्रोतका आम्दानीको कर नबुझाएको आइसिसीले दाबी गरेको छ । 

पूर्वअध्यक्ष नाजवाफ:

टी–२० विश्वकप आयोजनाको समयमा बिसिसिआई अध्यक्ष एन श्रीनिवासन थिए । उनले करसम्बन्धी आफूलाई केही पनि जानकारी नभएको आइसिसीसमक्ष बताएका छन् । ‘बिसिसिआईले अर्बौं रुपैयाँ कर लुकाएको सम्बन्धमा मलाई केही पनि थाहा छैन,’ श्रीनिवासनले भने, ‘सम्भवतः यी सबै सूचना चेन्नई प्रशासनले आइसिसीलाई दिएको हुनुपर्छ ।’ यता बिसिसिआईका एक व्यक्तिले भारतीय सञ्चारमाध्यममा शशांकले बोर्डसँगको आपसी झगडा आइसिसीसम्म पुर्याएको आरोप लगाएका छन् । ‘अहिले जति पनि करसम्बन्धी हल्ला चलिरहेको छ, त्यो शशांकले आफ्नो झगडा साध्नका लागि प्रयोग गरेका हुन्,’ उनले भने, ‘शशांकले आफ्नो निजी अजेन्डा आइसिसीमा पोखेका छन् ।’

प्रतिक्रिया दिनुहोस्