महोत्तरीमा उपनिर्वाचनको तयारी



महोत्तरी : आउने मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका २२ हजार ७ सय १० मतदाताले मतदान गर्ने भएका छन् । जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष र अन्य दुई नगरपालिकाका तीनवटा वडामा हुने उपनिर्वाचनमा सो सङ्ख्याका मतदाताले भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । पिपरासहित बलवान गरपालिका–२ र ८ एवं मटिहानी नगरपालिका–८ को वडाध्यक्षसहित चार पदका लागि उपनिर्वाचन हुँदैछ । तीमध्ये पिपरा गाउँपालिकामा १८ हजार ५०४ बलवा–२ मा एक हजार ५५४, बलवा–८ मा एक हजार ५८३ र मटिहानी–८ मा एक हजार ६९ मतदाता रहेको उक्त कार्यालयले जनाएको हो ।

उक्त गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाध्यक्ष सञ्जयकुमार मण्डलले राजीनामा दिएपछि रिक्त भएका ती पदका लागि उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदी तोकिनुभएको र मुख्य निर्वाचन अधिकृतको कार्यालय पिपरामा स्थापना गरिएको छ । त्यसैगरी बलवाका दुईवटा वडा र मटिहानीको एक वडाको उपनिर्वाचनका लागि पनि निर्वाचन अधिकृत तोकिएको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनमा पिपराको १५ मतदानस्थलमा २४ मतदान केन्द्र, बलवामा दुइवटा वडामा एक÷एक मतदानस्थलमा दुई-दुई मतदान केन्द्र एवं मटिहानीको एउटा वडाको उपनिर्वाचनका लागि पनि एक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन अधिकारी झाले बताउनुभयो ।चारवटै पदका लागि हुने उपनिर्वाचनमा यही कात्तिक २७ गते उम्मेदवारले मनोनयनपत्र दाखिला गर्ने समय तोकिएको छ । चुनावका लागि मनोनयनपत्र दाखिला गर्ने समय नजिकिँदै गर्दा राजनीतिक दल उम्मेदवार छान्न व्यस्त देखिएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्