बाहिर आउँदै नेपाल–चीन सीमा विवाद



काठमाडौं : चीनसँगको सीमाबारे विवाद भएको खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा–विवाद बाहिर नआएको मात्रै हो। नापी विभाग महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनले सगरमाथाको उचाई, दोलखाका पर्ने ५७ नम्बर पिलरमा समस्या रहेको स्वीकार गरको छन्। नेपाल र चीनको सगरमाथाको उचाइबारे पनि एकमत छैनन्।

नेपाल–चीन सीमाका अन्य ठाउँमा सामान्य विवाद छन् भने झण्डै आधा दर्जन सीमा स्तम्भ बेपत्ता भएका छन्। नेपाल–चीन सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ। पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ बनाइएका छन्। तीमध्ये सन् २००५ मा भएको सुपरीवेक्षणमा ३७, ३८, र ६२ नम्बरका स्तम्भ भेटिएका थिएनन्। ३७ र ३८ नम्बर स्तम्भ गोरखाको तोम खोलामा पर्छ। त्यहाँ सन् १९७८ मा सीमांकन हुँदैदेखि स्तम्भ भेटिएको थिएन। सोलुखुम्बुको नाम्पा भञ्ज्याङमा रहेको ६२ नम्बरको स्तम्भ पनि छैन। ६२ नम्बर पिलरपछि भेटिएको नापी विभाग स्रोतले बताएको छ।

ठूलो समस्याचाहिँ ५७ नम्बर स्तम्भमा छ। दोलखाको लामाबगर पूर्वपट्टिको कोर्लाङपारिको टुप्पोमा हुनुपर्ने स्तम्भ पहाडको फेदमा छ। सन् १९७८ सीमांकन गर्न जाँदा उक्त स्तम्भ नभेटिएको सीमाविद् पूण्यप्रसाद ओलीले बताए। ‘कोर्लाङपारिको टुप्पोमा पिलर भेटिएन, नेपाल–चीन सन्धिअनुसार टुप्पो हेरियो तर यहाँ थिएन,’ त्यसबेला एरियल फोटोग्राफीबाट सीमांकन गर्न खटिएका ओलीले भने। उनी नापी विभागका पूर्वमहानिर्देशक पनि हुन्।

प्राविधिककै कमजोरीका कारण त्यो स्तम्भ फेदमा गाडिएको नापी विभाग स्रोत बताउँछ। पहाडको टुप्पामा जान धेरै समय लाग्ने र जोखिम पनि भएकाले प्राविधिकले फेदमा गाडेर फर्केका कारण समस्या आएको हो। हुनुपर्ने स्थानमा स्तम्भ नगाडिँदा उक्त भूभाग दाबी गर्ने आधार चीनले पाएको छ। त्यस्तै कोरला नाकामा लामो समयदेखि विवाद थियो। सन् २०१६ मा तारबार लगाएर उक्त नाकाको विवाद सल्ट्याइएको छ।

सगरमाथाको उचाइबारे पनि समस्या छ। १२ ठाउँबाट नापेर चीनले यसको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको बताएको थियो। चीनकै मापनलाई नेपाल र अन्तर्राष्ट्रिय जगत्ले मान्यता दिएको थियो। अहिले चीनले नै उक्त मापन सही नभएको बताएको छ। चीनले सन् २००५ पछि सगरमाथाको उचाई ८ हजार ८ सय ४४ मिटर भन्न थालेको छ। अमेरिकाले पनि सन् १९९९ मा सगरमाथाको उचाई ८ हजार ८ सय ५० उल्लेख गरेको थियो। यसबाट सगरमाथाको वास्तविक उचाइबारे दुविधा उत्पन्न भएको छ।

यसलाई निवारण गर्न अहिले नेपाल र चीनको संयुक्त टोलीले उचाइ नापिरहेको छ। चीन र अमेरिकाको भनाईलाई नेपाल अस्वीकार गर्‍यो। नेपालले पहिलोपटक सगरमाथाको शिखरमा नै पुगेर उचाइ नाप गर्ने काम गरिरहेको छ। अब केही समयपछि यसको सगरमाथाको उचाईको यथार्थको नतिजा आउने नापी विभागले जनाएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्