स्वास्थ्यमन्त्री यादवले वीपी प्रतिष्ठानको बैठक रोक्नुको रहस्य



काठमाडौं : जनस्वास्थ्य जस्तो अति जरुरी तथा संवेदनशील सेवा पुर्याउँदै आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट बैठक डेढ वर्षदेखि बस्न सकेको छैन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दादागिरीका कारण नियमित रुपमा बस्दै आएको सिनेट वैठक डेढ वर्षदेखि रोकिदै आएको छ ।

गत शुक्रबार निकै जोडबलका साथ तयारी गरी बस्नथालेको भनिएको सिनेटको ४३औं बैठक बस्न नसकेपछि ‘हात्ती आयो, फुस्सा’ हुन पुगेको थियो । डेढ वर्षदेखि निरन्तर स्थगित हुँदै आएपछि प्रतिष्ठान सिनेटको अर्थ रहन छाडेको छ । कर्मचारी दिशाविहीन र आक्रोशित छन् ।

उक्त प्रतिष्ठानका सहउपकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा.बीएन यादवलाई जबर्जस्ती रजिष्ट्रार बनाउन दबाब दिँदै आएपछि सिनेट बैठक स्थगित हुँदै आएको छ । प्राज्ञिक तथा व्यावसायिक थलोका रुपमा रहेको उक्त प्रतिष्ठानमा मन्त्री यादवले मेरिटाक्रेसीलाई मिचेर व्यावसायिक मर्यादाको धज्जी उडाउँदै दादागिरी देखाउन थालेपछि उनी कर्मचारीबाट निरन्तर तिरस्कृत हुँदै आएका छन् ।

काठमाडौं मन्त्री निवासमा बोलाएर एकेक गरी सिनेट पदाधिकारी तथा सदस्यहरुलाई थर्काए पनि मन्त्री यादवको हैसियतलाई कसैले टेरपुच्छर नलाएको देखिएको छ । वैठकका लागि भनेर काठमाडौं बोलाउने अनि डा. बीएनलाई नै रजिष्ट्रार बनाउनु पर्छ भनेर धम्क्याउने गरेपछि सिनेटका सबैले बैठक बहिस्कार गरेका छन् ।

हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा रेक्टरको जिम्मेवारीमा रहेका डा.बीएन निकै विवादित व्यक्ति भएकाले मन्त्री यादवको दबाबको कुनै अर्थ नरहनेमा सिनेट पदाधिकारी तथा सदस्यहरुको एकमत रहेको छ । उनीहरु भन्छन्– स्वास्थ्यमन्त्री निकट भएका नाताले मात्र उनका कमीकमजोरी क्षम्य हुन सक्दैन ।

हाल प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनालले वैठक स्थगनको कारण बताउँदै भने– ‘मन्त्रालयले रजिष्ट्रार नभई सिनेट बैठक बस्दा कानुनी समस्या आउन सक्ने भन्दै स्थगित गर्ने निर्णय गरेकाले’ स्थगन गरिएको हो । धेरै महत्वपूर्ण र आवश्यक निर्णयहरु गरिने भनी अपेक्षा गरिएको यो वैठक पनि स्थगित हुन पुगेपछि प्रतिष्ठानको लामो समयदेखि निर्माणाधीन मातृशिशु भवन, प्रोमोसन, तलब, बजेट लगायतका एजेन्डा अलपत्र हुन पुगेका छन् ।

तत्कालीन उपकुलपति डा.राजकुमार रौनियार घुससहित अख्तियार टोलीबाट रंगेहात पक्राउ परेपछि रेक्टर गुरुप्रसाद खनाललाई कार्यबाहक उपकुलपतिको जिम्मेवारी दिइएको थियो । हाल प्रतिष्ठानमा रजिष्ट्रारको पद खाली नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्