विख्यात रुसी प्राध्यापकद्वारा २६ वर्षीया छात्राको हत्या



एजेन्सी : नशाले झुल्ल परेका विख्यात रुसी प्राध्यापक मोइका नदीमा खसेको अवस्थामा फेला परे । उद्दारकर्ताहरुले निकै सम्मान र व्यग्रताका साथ उनको उद्दार गरे पनि । तर उनको साथमा रहेको झोलामा हेर्दा महिलाको आलो हात भेटियो । उनलाई तत्काल गिरफ्तार गरियो र हिरासतमा लगियो ।

रुसको नम्बर १ पदक प्राप्त गरेका प्राध्यापक ओलेग सोकोलभ निकै चर्चित र सम्मानित व्यक्ति हुन् । तर उनी यो घटनापछि हत्या अभियोगमा गिरफ्तार परेका छन् । उनलाई मृत महिलाको शरीरका विभिन्न अंगहरु फ्याँक्ने सिलसिलामा नदीमा खसेको अवस्थामा पाइएको हो ।

उनी मदिराको चर्को नशामा हल्लिंदै खोला किनारा नजिक पुगी हत्या गरिएकी महिलाको शरीरका अंगहरु फ्याँक्ने क्रममा खोलामा खसेको स्थानीय पत्रपत्रिकाहरुमा जनाइएको छ ।

उनको गिरफ्तारी लगत्तै प्रहरीले उनको घरमा छापा मार्दा उनको एक २४ वर्षीया पूर्वविद्यार्थीको क्षतविक्षत शरीर भेटिएको छ । रुसको सर्वोच्च पदक प्रापक प्राध्यापक सोकोलभले फ्रान्सेली शासक नेपोलियन बोनापार्टसम्बन्धी विषद् विज्ञता हासिल गरेका छन् । उनले नेपोलियनमाथि थुप्रै पुस्तक लेख्नुका साथै केही फिल्ममा इतिहास सल्लाहकारका रूपमा काम गरेका छन् ।

उनकै घरमा हत्या गरिएकी ती महिला प्राध्यापक सोकोलभको एक प्रकाशनमा सहलेखक रहेकी अनास्तिसिया यस्चेन्कोको नै भएको अनुसन्धानबाट खुल्न आएको छ । रुसी प्रहरीले जारी गरेको विज्ञप्तिमा मोइका नदीबाट एक ६३ वर्षीय पुरुषलाई उद्दार गरिएको र उनलाई हत्याको आशङ्कामा पक्राउ गरिएको जनाइएको छ ।

फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स र पोलिटिक्सका सदस्य रहेका सोकोलभलाई शनिवार सो संस्थाले भावावेगपूर्ण विज्ञप्तिका साथ “हामीले आतङ्कित भावमा ओलेग सोकोलभ दोषी भएको अपराधको बारेमा थाहा पाउन पुगेका छौं” भन्दै उनलाई निकाला गरेको जनाएको छ ।

उनलाई रुसी राष्ट्रिय कार्यक्रममा सैनिक सम्मान पनि दिने गरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्