पर्यटन बोर्डको सिइओ जोशीमाथि अनियमितताको वात, सिइओ बन्न खातैखात



काठमाडौं : नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ) को खोजी हुँदैगर्दा बिदाइको तरखरमा रहेका सीईओ दीपक जोशीले बदनाम र अनियमितताको भारी बोकेर जाँदै छन् । त्यसोत नयाँ सीईओ छनोटका लागि पर्यटन बोर्डको सञ्चालक समिति सदस्य विप्लब पौडेलको संयोजकत्वमा कृष्णबहादुर महरा र पर्यटन मन्त्रालयका सहसचिव धनश्याम उपाध्याय सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन भई काम गरिरहेको छ । यससँगै बोर्डभित्र आर्थिक हिनामिनाको कुरा उठेको छ ।

अहिले आकर्षक पदका रुपमा रहेको नेपाल पर्यटन बोर्डको सिओ हुन धेरै व्यक्तिहरुको दौडधुप चलेको छ । जोशीको पनि दोहोरिने इच्छासँगै बोर्डमा कार्यरत अधिकारीहरुपनि दौडधुपमा लागेका छन् ।

नेपाल पर्यटन वर्ष २०२० सँगै बोर्डको प्रमुख भएर शान र मानसँगै विदेश घुम्न पनि पाइने तथा आर्थिक हिसाबले पनि आकर्षक मानिने पद भएका कारण प्रमुख बन्न धेरै मान्छेले प्रधानमन्त्री निवास बालुवाटारदेखि राष्ट्रिपति निवास शितलनिवाससम्म पहुँच पुर्याउने कसरतमा लागेका छन् । त्यसैगरी प्रमुख बन्नका लागि विभिन्न नेता र शक्ति केन्द्रमा धाउनेहरुको लर्कोनै देखिन्छ ।

उता भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि देशमा २० लाख आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने लक्ष्यअनुसार पर्यटन बोर्डले काम अघि बढाउन बाँकी नै छ । तात्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि गत्याबरोधका रुपमा देखिएको यो काम युवा नेता योगेश भट्टराईले संस्कृति तथा पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेपछि केही गति लिन थालेको देखिएको छ ।

हालसम्म बोर्डका सिईओको जिम्मेवारी सम्हाल्दै आएका दीपकराज जोशीको नेतृत्व क्षमतामाथि प्रश्न उठ्दै आएको थियो । तथापि उनैले पूरै कार्यकाल बिताउने मौका पाए । तर पर्यटन वर्ष २०२० का लागि तयारीका कामहरुले त्यति गति भने लिन सकेनन् । हाल नयाँ सीईओको खोजीसँगै पर्यटनसम्बन्धी कामहरु द्रुत गतिमा अघि बढाइने अपेक्षा पनि गरिएको छ ।

अवकाशका अन्तिम दिनहरुमा अपजसका साथै अभियोग पनि बेहोर्नुपर्ने अवस्थामा सीईओ जोशी देखिन पुगेका छन् । आर्थिक हिनामिनाको अभियोगले उनलाई पछ्याउने संभावना प्रवल हुादै गएको छ । त्यसैले पनि सिईओ जोशी र उनका सचिवालय सदस्यहरु दौडधूपमा चक्कर मार्न थालेको देखिन्छ ।

सिईओ जोशीले विदेशी नागरिक माइकल कोबाल्टसँग बोर्डका तर्फबाट गरेका कारोबार अहिले बोर्डमा छानबिनको विषय बनेको छ । देशभित्र दमकल भित्र्याउने योजनामा दुई वर्ष पहिले कोबाल्टसँग २ करोड रुपैयाँको कारोवार गरिएको थियो । कारोवार गरिएका ती व्यक्ति अहिले बेपत्ता छन् ।

सिईओ जोशीनिकट श्रद्धा श्रेष्ठको सम्पर्क मार्फत् कारोवारमा आएका कोवाल्टसँगको कारोवार विवाद अहिले बालुवाटारसम्म पुगेको छ । प्रधानमन्त्रीको सचिवालयको चासोको रुपमा समेत रहेको यो दमकल खरिद विवाद मिलाउने प्रयास भइरहे पनि टुंगो नलागेको बताइएको छ ।

यही मौकामा जोशीको सचिवालयमा रहेका खड्गविक्रम शाह पनि विवादमा तानिएका छन् । धेरैजसो समय विदेश शयरमा रहने उनका लागि युरोप–अमेरिका पानीपँधेरो बनेको उनका सहकर्मीहरु बताउँछन् । सीईओ दीपक जोशीको कार्यकाल यही पुसमा सकिएसँगै बोर्डको आर्थिक अनियमितता छताछुल्ल हुने देखिएको छ ।

यो समस्याको समाधान गर्न केही थप समय आवश्यक भएको कुरालाई मनन् गरी सीईओ जोशी भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा आफूलाई बिदाइ नगरी यसलाई सफल बनाउन थप एक कार्यकालका लागि अनुनयविनय गरिरहेका छन् ।

बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा भने सूचना प्रकाशित गरेर नयाँ सीईओ छनोट गर्नुपर्ने पक्षमा रहेका छन् । भनिन्छ उनी पनि सीइओ पड्काउने दाउँमा लागेका छन् । झापा घर भएका हिसाबले प्रधानमन्त्री केपी ओलीसँग उनको चिनजान र बसउठ राम्रै भएको कार्यालयकै कर्मचारीहरुले बताउने गरेका छन् ।

त्यसैगरी पर्यटन मन्त्रालयका पूर्व सहसचिव खडानन्द ढकाल, भिजिट नेपाल सचिवालयका सदस्य सचिव बच्चु नारायण श्रेष्ठ, डा. रघु विष्ट, हाल नेपाल उद्योग वाणिज्य महासंघमा कार्यरत ज्ञानेश्वर महतो र डा. हरि शर्मा लगायत दौडधुपमा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्