अतिक्रमणबारे भारतसँग वार्ता सुरु भइसक्यो : परराष्ट्रमन्त्री



काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र फिर्ता गर्नेबारे भारतसँग वार्ता सुरु भइसकेको बताएका छन् । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई पारेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।

यही सन्दर्भलाई ध्यानमा राखेर मिनी संसद्समेत भनिने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोलाएर छलफल गरेको थियो । संसदीय समितिमा परराष्ट्र सचिव शंकारदास वैरागीसहित उपस्थित भएका मन्त्री ज्ञवालीले भारतले नयाँ नक्सामा नेपाली भूमिसमेत समेटेको सन्दर्भ, सो भूमि नेपालकै हो भन्ने प्रमाणित गर्ने नेपालसँग भएका प्रमाण र नेपालले अब चाल्ने कदमबारे ‘ब्रिफिङ’ गरेका थिए ।मन्त्री ज्ञवालीले भारतले कालापानी क्षेत्रमा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउन भारतसँग वार्ता थाल्न सम्पर्क सुरु भइसकेको सांसदहरूलाई जानकारी गराएका थिए । ‘भारतसँग हाम्रो सम्पर्क सुरु भइसक्यो,’ मन्त्री ज्ञवालीले भने, ‘दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयसँग वार्ता थालिसकेको छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीको भनाइलाई पुष्टि गर्ने गरी सोमबार नै भारतस्थित नेपाली दूतावासले ट्वीट गर्दै राजदूत नीलाम्बर आचार्यले शुक्रबार भारतीय विदेश सचिव विजय गोख्लेसँग भेट गरेको जानकारी दिएको छ ।

राजदूत आचार्यको भेटमा भारत सीमा विवाद सुल्झाउन परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा बस्न तयार भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । मन्त्री ज्ञवालीले पनि परराष्ट्र सविचस्तरीय बैठकको तयारी भइरहेको जानकारी सांसदहरूलाई गराउँदै उच्च राजनीतिक तहमा वार्ता आवश्यक परे त्यो काम पनि प्रधानमन्त्रीले गर्ने बताए । ‘आवश्यक परे उच्च राजनीतिक तहमा प्रधानमन्त्रीले पनि भारतसँग वार्ता गर्नुहुन्छ,’ मन्त्री ज्ञवालीले भने । नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा कालापानी क्षेत्रको विवाद परराष्ट्र सविचस्तरीय संयन्त्रबाट टुंग्याउने सहमति भइसकेको भन्दै एकपक्षीय ढंगबाट भारतले गरेको काम मान्य नहुने दोहो-याए ।

नेपालले विवाद समाधानका लागि कूटनीति पहललाई नै प्राथमिकतामा राखेको जानकारी गराउँदै मन्त्री ज्ञवालीले त्यो कूटनीतिक प्रयासबाट सुल्झने विश्वाससमेत व्यक्त गरे । ‘प्रमाणका आधारमा सो भूमि नेपाली हो भन्नेमा कुनै द्विविधा छैन्,’ उनले भने, ‘विवादलाई कूटनीतिक ढंगबाटै समाधान गर्छौं । यसबाटै समाधान हुन्छ भन्ने विश्वास पनि छ ।’

विवादित भूमि नभनौंपरराष्ट्र मन्त्री ज्ञवालीले कालपानी क्षेत्रलाई नेपालका कतिपय व्यक्ति र सञ्चारमाध्यमले विवादित क्षेत्र भनेको भन्दै आपत्ति जनाए । ‘कालापानीलाई कुनै मिडियाले विवादित भन्ने गरेका छन्,’ उनले भने, ‘त्यो हुँदै होइन, तथ्य र प्रमाण हामीसँग छ । यो विवादित होइन, नसुल्झिएको विषय हो ।’

विगत लामो समयदेखि नेपाल–भारतबीच हुने वार्तामा यसलाई नसुल्झिएको विषयका रूपमा भारतले समेत स्वीकार गरिसकेको जानकारी उनले दिए । उनले भने, ‘नेपाल–भारत संयुक्त आयोगका प्रत्येक बैठकमा यसलाई नटुंगिएको विषयमा स्वीकार गरिएको हो ।’ आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्