यस्तो छ मुख्यमन्त्री हेरफेरको तयारी



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनसँगै प्रदेशका मुख्यामन्त्रीको हेरफेर गर्ने तयारी गरेका छन् । अहिले सातमध्ये अहिले ६ वटा प्रदेशमा नेकपाका मुख्यमन्त्री रहेका छन् ।

प्रदेशको मुख्यमन्त्री हेरफेरलाई अन्तिम रुप दिनको लागि प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गम्भीर वार्ता भएको श्रोतले बताएको छ  ।

प्रदेश राजधानीका कारण अप्ठेरोमा परेको महशुस गरेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले त्यहाँबाट मुक्ति खोजिरहेका छन् ।

मुख्यमन्त्री पोखरेललाई संघीय सरकारको अर्थमन्त्री बनाउन दवाव प्रधानमन्त्री ओलीमाथि दिइदै आएको बताइन्छ । पोखरेललाई अब रिक्त हुने राष्ट्रियसभाको सदस्य बन्ने चाहना पनि व्यक्त गरेको बताइन्छ । प्रदेश सांसदबाट राजीनामा दिएर अर्थमन्त्री बन्ने चाहना रखेका पोखरेलका अगाडी दुई वटा विकल्प देखिन्छन् । संवैधानिक व्यवस्थाअनुसार संघीयमन्त्री बनेको ६ महिनाभित्र संघीयसांसद हुनपर्ने व्यवस्था छ । त्यसका लागि एउटा विकल्प अब रिक्त हुने राष्ट्रिय सभाको सदस्य बन्नेर दोस्रोमा पूर्व सभामुख कृष्णबहादुर महरा दोषी ठहरिएभने उनको रिक्त स्थानमा दाङबाट चुनाव लडेर सांसद बन्ने देखिन्छ  ।

प्रदेश ५ बाट शंकर पोखरेलले राजीनामा दिएमा प्रधानमन्त्री ओलीको पूर्वमाओवादीबाट मुख्यमन्त्री बनाउने तयारी रहेको छ । त्यस्तो अवस्थामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा गर्न लगाएर पूर्वएमालेका यमलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको कामबाट पनि प्रधानमन्त्री ओली असन्तुष्ट रहेको बताइन्छ । पौडेलको विकल्पमा प्रधानमन्त्री ओलीले सूची तयार गरेपनि राईका सम्बन्धमा टुङ्गोमा पुगिनसकेको बताइन्छ । यी दुवै मुख्यमन्त्रीले राष्ट्रपतिको साथ पाएको चर्चा नेकपाभित्र चल्ने गरेको छ । उता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री हुँदा हाल अर्थमन्त्री रहेका किरण गुरुङसँग भएको सहमति अनुसार अब किरण गुरुङलाई मुख्यमन्त्री बनाउने लविङ पनि शुरु भएको छ । नेकपाभित्र प्रभावशाली बन्दै गरेका बामदेव गौतमको साथ पाएका किरण गुरुङले सहमति कार्यान्वयन गर्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्