‘छाेरो नपाई सुखै छैन’



जुम्ला : तातोपानी गाउँपालिका–२ की २४ वर्षीया कालिका डाँगीले विवाह गरेको १० वर्ष भयो। साथीको लहलहैमा लागेर उनले १४ वर्षको कलिलै उमेरमा भागी बिहे गरिन्। अहिले उनी तीन सन्तानकी आमा बनेकी छन्। बिहे गरेको दुई वर्षमै उनले पहिलो सन्तान छोरी जन्माइन्।

अहिले कालिकासँग आठ, पाँच र एक वर्षकी छोरी छन्। २४ वर्षमै तीन सन्तानको आमा बनेकी कालिकाको बिहेपछि पढाइ त रोकियो नै, स्वाथ्यमासमेत असर पुगेको छ। उनी भन्छिन्, ‘सानैमा बिहे गरेर बन्धनमा परियो, अहिले पीडाले थलिएकी छु। त्यसैमा तीन/तीन वटी छोरी हुर्काउनुपर्ने बाध्यता छ।’

तीन सन्तानले मात्र पुगेको छैन, छोरा जन्माउनैपर्ने पारिवारिक दबाब उनीमाथि छ। जसका कारण उनको मानसिक अवस्था कमजोर बन्दै गएको छ।

‘हामी महिलाले सधैं अर्काकै चाहाना पूरा गर्नुपर्ने ? मर्न लागे पनि कसैलाई वास्ता छैन। जिन्दगी मेरालागि बोझ भइसक्यो’, उनले दुखेसो पोखिन्। बिहेपछि कालिकाका पति कृष्ण डाँगीको पढाइमा पनि पूर्णविराम लाग्यो।

उनलाई बालबच्चा हुर्काउनै समस्या छ। पति पाटनमा भेडा चराउने गर्छन्। कालिकालाई तीन छोरी लिएर घर धान्न मुस्किल छ। आजको अन्नपूर्ण पोष्टदैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्