डा. भट्टराईको निष्कर्ष : नेकपा पतनको दिशामा, कांग्रेस नालायक (प्रतिवेदनसहित)



काठमाडौं : संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई कडा प्रहार गरेका छन् ।

आजदेखि शुरु भएको समाजवादी पार्टी संघीय परिषदको बैकठमा आफ्नो २५ पेज लामो राजनीतिक प्रतिवेदन पेश गर्दै ओली नेतृत्वको सरकार र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस प्रति कडा प्रहार गरेका छन् ।

आफ्नो पार्टीका तर्फबाट सरकारमा सामिल भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले एक लौटी ढंगले सरकार चलाएको बताउँदै अध्यक्ष भट्टराईले प्रदेश प्रमुखहरुलाई एकलौटी हटाउने निर्णयको पनि निन्दा गरेका छन् ।

१७ बुँदा र विभिन्न उप बुँदा राखेर प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष भट्टराईले ८ नम्बर बुँदामा राजनीतिक शक्तिहरुको विश्लेषण गर्दै सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल प्रति आक्रामक देखिएका छन् ।

भट्टराईले सरकारको दुई वर्ष अवधिको समिक्षा गर्दै सरकार असफल भएको निष्कर्ष पनि निकालेका छन् । साथै ओली सरकार आफै अकर्मण्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गएको आरोप पनि भट्टराईले सरकारमाथि लगाएका छन् ।

त्यस्तै प्रतिवेदन पेश गर्दै भट्टराईले आफ्नो पार्टी संविधान संशोधन गर्ने सर्तमा सरकारमा गएपनि प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न अनिच्छा देखाएको र संघीयताको मर्ममाथिनै प्रहार गरेको विश्लेषण गरेका छन् । अध्यक्ष भट्टराईले नेकपाको सरकारले देशको नेतृत्व गर्ने सम्भावना निरन्तर क्षण हुँदै गएको निष्कर्ष पनि निकालेका छन् । उनले सरकारले सिन्डिकेट तोड्न नसकेको, ३३ किलो सुन काण्डको उचित छानविन हुन नसकेको, वाइडवडीदेखि बुढीगण्डकीसम्मको भ्रष्टाचारमा सरकार डुबेको आरोप लगाउँदै रेल, पानी जाहाज, दुई अकंको आर्थिक वृद्धि लगायतको विषयमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पनी उल्लेख गरेका छन् ।

भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुन भित्रको यात्रा गर्दै नेकपा भविष्यमा फेरी उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख भएको आरोप पनि लगाएका छन् ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल कांग्रेसको सन्दर्भमा आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेस आफ्नो असक्षमता, अकर्मणता र नालायकी पनको भारले थिचिएको बताउँदै प्रमुख प्रतिपक्ष भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थिलोथिलो भएको निष्कर्ष निकालेका छन् ।

भट्टराईले कांग्रेस सहभागितामुलक, समावेशी समानुपातिक लोकतन्त्रको विरुद्धमा उभिने गरेको पार्टीको रुपमा चित्रित गरेका छन् ।

सो पार्टीको सरकारले नै नेपालमा निरपेक्ष निजीकरण र उदारीकरण शुरुवात गर्नेदेखि राष्ट्रिय उद्योगधन्दा समाप्त गर्ने, कृषि अनुदान कटौती गर्ने, कृषिप्रधान देशलाई कृषि वस्तुमै परनिर्भर र आयातकर्ता बनाउने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तु विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापारघाटामा पारेको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा उनले कांग्रेसको विश्लेषण गर्दै भनेका छन्, ‘शिक्षा र स्वास्थ्यको अतिव्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत् अव्यवस्थित शहरीकरण र सहरी सुकुम्बासी समस्या सृजना गर्ने, नियामक संस्थाहरूको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ र सिन्डिकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतमा निश्चित वृत्तलाई मात्र पोस्ने र कमिसनतन्त्रलाई बढावा दिनेजस्ता प्रवृत्ति कांग्रेसले संस्थागत गरेको छ ।’

कांग्रेसको शासन कालमा लाउडा, धमिजा, सुडान जस्ता ठूला–ठूला भ्रष्टाचार काण्ड गरेको प्रसंग उठाउँदै भट्टराईले कांग्रेसले आफ्नो प्रजातन्त्री समाजवाद उल्लेख गरेपनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल नभएको निष्कर्ष पनि निकालेका छन् ।

उनी पार्टी एकीकरणको क्रममा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल प्रति भने नरम देखिएका छन् । त्यस्तै नेकपा क्रान्तिकारीको नेतृत्व गरिरहेको मोहन वौद्य र नेकपा मसालको नेतृत्व गरिरहेका मोहन विक्रम सिंह लगायतका पार्टीलाई शास्त्रीय पार्टी भनेका छन् ।

त्यस्तै राप्रपालाई पूरातन सम्बधनवादी धारको प्रतित्व गर्ने दल भन्दै राजतन्त्र हल्ला गर्ने दलका रुपमा चित्रित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्