नेहाको फ्ल्यासब्याकमा पूर्व राजा ज्ञानेन्द्रको एयर किस (भिडियोसहित)



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एक नाइट क्लबमा सर्वसाधरणसँग सेल्फीलिंदै मज्जाले नाचेपछि यसले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । प्रायः गम्भीर मुडमा देखा पर्ने पूर्व राजा नाइट क्लवमा गएर हाँसीखुशीका साथ प्रस्तुत किन भए ? नेपाली राजनीतिक वृत्तमा पूर्व राजा ज्ञानेन्द्र हाँस्दा पनि र गम्भीर हुँदा पनि तरंग पैदा हुने गरेको छ ।

त्यसो त राष्ट्रकवि माधवप्रसाद घिमिरेले उनको गौरी खण्डकाव्यमा आमा गुमाएका आफ्ना टुहुरा नानीहरुको भावनात्मक अभिव्यक्तिलाई लिएर निकै मर्मका साथ यसो भनेका छन्– ‘यी रुँदा पनि सुख छैन मनमा सम्झे कि आमा भनी, यी हाँस्दा पनि सुख छैन मनमा बिर्से कि आमा भनी ।’

गणतन्त्र नेपालका नेताहरु आफूहरुले जनतामा बाचा गरेजस्तो काम गरेर देखाउन समस्या परेपछि समस्यालाई विषयान्तरण गर्न नागरिक भैसकेका राजामाथि बेलाबखत शंकाको मेसिनगन चलाउँदै आक्रामण गर्ने गरेका छन् । एल्ओडी क्लबमा शनिवार राती देखा परेको पूर्व राजा ज्ञानेन्द्रको खुशी नेपाली राजनीतिक नेताहरुका लागि राष्ट्र कविको गौरी खण्डकाव्यमा अभिव्यक्त भावनाजस्तै हुन पुगेका देखिन्छन् ।

कतै पूर्वराजा गुमेको शासन पाउने आशाले खुशी भएका त छैनन् भन्ने आशंकाले नेताहरुको सातो लिने गरेको छ । सिंगो सेना, कर्मचारी, प्रहरी तथा जनमत लिएर बसेका नेताहरु पूर्व राजा ज्ञानेन्द्र आफ्ना छोरी र बुहारी लिएर नाइट क्लवमा मुड फ्रेस गर्न जाँदा त्यति आत्तिनु पर्ने कुनै कारण देखिदैन ।

जनसम्बन्ध बनाउन नेताहरुभन्दा सिपालु पूर्व राजा ज्ञानेन्द्र अवश्य पनि जनताका माझमा नेताभन्दा सरल र सहज रुपमा प्रस्तुत भैरहेका देखिन्छन् । नेताहरुलाई यसै कुरामा असहजता महसुस भएको हुनु पर्छ । शनिवार पनि राती पनि प्रायः युवायुवतीको जमघट रहने उक्त क्लबमा ज्ञानेद्र पुगेर उपस्थित सबैलाई छक्क पारेका थिए । त्यहाँ पुगेर उपस्थितिमात्र नजनाई सर्वसाधरणसँग हातेमालो गर्दै सामूहिक नाचगान गरेर सबैलाई चकित पारे ।

‘रातो र चन्द्र सूर्य’ गीतसँगै ज्ञानेन्द्र तालमा ताल मिलाउँदै नाचेका थिए । एलओडीले आफ्नो फेसबुक पेजमा अपलोड गरेको यो भिडियो अहिले भाइरल बनेको छ । यसैलाई फेसबुक पेजमै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कमेन्ट र शेयर गर्दै प्रशंसा गरेका छन् ।

उनको भाषामा पूर्वराजालाई ‘राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा, जनताको राजा, नागरिक राजा, जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने, संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक’ का रुपमा अभिव्यक्त समेत गर्न भ्याएका छन् ।

राजधानी सहरको मुटुमा रहेको ठमेलस्थित एलओडी नाइट क्लब दिनरात खुल्ला रहने गरेको छ । पूरै ठमेल मध्यरातमा निदाइसक्दा पनि यो गानबजानमै व्यस्त रहेको हुन्छ । युवायुवतीको निकै भिडभाड रहने यो क्लब नयाँ पुस्ताको रोजाइमा परेको छ ।

युवाहरु मध्यरातमा झुमिरहँदा आफ्नो ३१ औं जन्मदिन मनाएकी नेहा कक्करको मादकताले भरिएको मन्द मुस्कानसहितको फुलेक्सले हल जुरुकजुरुक उठाइरहेको थियो । गीत बजिरहेको थियो– दिलबर दिलबर…हाँ दिलबर दिलबर‍‍‍‍‍‍ …।

प्रतिक्रिया दिनुहोस्