नेकपा भित्र दुई शेर : निरन्तर चलिरहेछ लभ अफेयर



काठमाडौं : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच बेमेल रहेको हो कि भन्ने आशंका बाहिर आइरहेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्ड र आफ्नो मित्रता देखेर दुनियाँ नै अचम्मित भएको उल्लेख गरेका छन् । उनीहरुबीच कायम भएको यो मित्रताले देश हाँकिरहेको उनको दाबी छ ।

यो मित्रता यसरी स्थापित भयो कि यसले ‘एक ही जंगलमे दो शेर रहे नही सकते’ भन्ने हिन्दी उखानलाई गलत साबित गरिदिएको छ । दुवैको विचार र लक्ष्य भनेको नेपालमा समाजवाद स्थापना गर्नु रहेकाले प्रधानमन्त्री ओलीले कार्यकर्ताहरु निष्ठावान बनेर यो अभियानमा सहभागी हुन आग्रह समेत गरे । उनले भने– ‘अनुचित सम्पत्ति आर्जन गर्नेतिर नलाग्नुस् । अहिले बचियो भनेर हुँदैन, हामीले १२ वर्षअघिको केस पनि निकालेका छौं ।’

१२ वर्षअघि रौतहटमा बम बिस्फोट हुँदा ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोपमा कांग्रेस सांसद मोहम्मद आफ्ताब आलम कारागार चलान भएको घटनातर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्तालाई निष्ठावान रहन सतर्क गराएका हुन् । नेता कार्यकर्ताहरुलाई भविष्यप्रति आशावादी बनाउँदै उनले भने–‘अहिले लौरो टेकेर लरखराइरहेको पुँजीवाद फाईफुईं गर्न खोजिरहेको छ, तर यो निर्ममताको अर्को रुपभन्दा अरुबढी केही होइन ।’

प्रधानमन्त्री ओलीले नागरिक समाज आफैमा स्वच्छ रहने र यसले स्वस्थ आलोचना सहारा लिने गर्दछ भन्दै एनजीओ÷आईएनजीओ ब्रान्डको नागरिकसमाज नेपाललाई आवश्यक नभएको कुरा बताए । यस्ता आईएनजीओलाई ‘चुच्चेबट्टे एनजीओ ब्रान्ड’को संज्ञा दिंदै प्रम ओलीले सकरात्म सोंच र सृजनात्मक अभिव्यक्तिको खाँचो औल्याए ।

अहिले कम्युनिष्टको सरकार भएकाले बाहिरबाट जसरी पनि विरोध गर्ने र खोइल्याउने प्रवृत्तिका पक्षधरहरुले काम गरिरहेको भन्दै प्रम ओलीले यसमा वैचारिक पूर्वाग्रहले काम गर्ने गरेको बताए । त्यसै गरी आफूले केही पनि नपाएको भनी आत्मकेन्द्रित स्वार्थका कारण आन्तरिक रुपमा पनि विरोध भैरहेको उनले सुनाए ।

अर्का अध्यक्ष प्रचण्डको भनाइ छ– ‘हामी दुई अध्यक्षले माइनस माइनस प्लस गर्ने हो माइनस माइनस माइनस गर्ने होइन भनेर आँटेपछि एमाले र माओवादी केन्द्रबीच गठबन्धन बन्यो, बहुमत आयो र दुईतिहाईको सरकार निर्माण भयो ।’ ठट्यौली शैलीमा उनले थपे– दुई मुर्खहरु भेला भयौं, दिनरात खट्यौँ र एकता गर्यौं । शत्रु लागेपनि एकभै अघि बढिरहेका छौं ।’

तत्कालीन एमालेको नवौं महाधिवेशन र तत्कालीन माओवादी केन्द्रको हेटौँडा महाधिवेशनबाट अबको लक्ष्य समाजवादतिर भएको ठहर गरेपछि यो एकताको आधार निर्माण हुन पुगेको प्रचण्डले बताए ।

नेकपाविरुद्ध चारैतिर घेराबन्दी भएकाले सबै एक भएर अघि बढ्नुपर्ने कुरामा दुवै अध्यक्षको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्